सातौं शहिद स्मृति महिला गोल्डकपमा ८ लाख बढी मुनाफा

हेटौंडा । सातौं शहिद स्मृति मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताले ८ लाख ३५ हजार रुपैयाँ मुनाफा कमाएको छ। प्रतियोगिता सम्पन्न भएको दुई महिनापछि शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले आय–व्यय विवरण सार्वजनिक गरेको हो।

संघका कोषाध्यक्ष अमृत लुङबाले प्रतियोगिताबाट कुल ६४ लाख ९८ हजार रुपैयाँ आम्दानी र ५६ लाख ६२ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो। प्रतियोगिता हेटौंडा–६ स्थित गौरीटार रंगशालामा २०८२ वैशाख १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो।

प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए। फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो।

हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा आयोजित प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका लगायतको विशेष सहयोग रहेको थियो।

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, महासचिव छविलाल सुवेदी, प्रतियोगिता संयोजक प्रताप विष्ट लगायतको उपस्थिति थियो।

संघले यसअघि छैटौं संस्करणसम्म पुरुष गोल्डकप आयोजना गर्दै आएकोमा घाटा बेहोर्नु परेपछि सातौं संस्करणदेखि महिला गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.