मिडियामाथि बढ्दो अंकुशप्रति चिन्ता व्यक्त

हेटौँडा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मिडियामाथि बढ्दो नियन्त्रणको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ।

आइतबार महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले हरेक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइए पनि व्यवहारमा प्रेस अझै पूर्ण रूपमा स्वतन्त्र हुन नसकेको बताउनुभयो। उहाँले सरकारबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मिडियामाथि अंकुश लगाउने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर हुने धारणा राख्नुभयो।

कार्यक्रममा प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले लोकतन्त्र स्थापनामा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै वर्तमान समयमा पत्रकारितालाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो। सामाजिक सञ्जाललाई नै आम सञ्चारमाध्यमका रूपमा बुझ्ने प्रवृत्तिले थप चुनौती सिर्जना गरेको उहाँको भनाइ थियो।

नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले नेपालमा मात्र नभई विश्वभर प्रेसमाथि आक्रमण बढ्दै गएको उल्लेख गर्दै पत्रकारहरूले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो। साथै, सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन दिने पछिल्लो निर्णयले स्वतन्त्र मिडियालाई असर पार्ने टिप्पणी गर्नुभयो।

स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठले निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सन्तुलित समाचार प्रवाहमा जोड दिनुभयो। त्यस्तै, महासंघ बागमती प्रदेश समिति सदस्य सुवर्णलाल श्रेष्ठले पत्रकारिता क्षेत्रमा बढ्दो एकपक्षीयताप्रति चिन्ता व्यक्त गर्दै पत्रकारहरू स्वतन्त्र रूपमा काम गर्न नसकेको अवस्था रहेको बताउनुभयो।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्प अधिकारीले प्रेसमाथि नियन्त्रण गर्न खोज्नु लोकतन्त्र र नागरिक अधिकारमाथिको प्रहार भएको बताउँदै मिडियालाई जिम्मेवार ढंगले नियमन गर्नुपर्ने धारणा राख्नुभयो। प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहालले सञ्चार क्षेत्र महिलाका लागि चुनौती र अवसर दुवै भएको बताउनुभयो।

कार्यक्रममा सञ्चारकर्मी प्रमोद सहनीले श्रमको उचित मूल्याङ्कन नहुँदा पत्रकारहरूले समयमै पारिश्रमिक नपाउने समस्या रहेको गुनासो गर्नुभयो। आफूले काम गरेको संस्थाबाट १० महिनासम्म पारिश्रमिक नपाएको विषय सम्बन्धित निकायमा राख्दा पनि सम्बोधन नभएको उहाँले बताउनुभयो।

गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले प्रेस स्वतन्त्रता गम्भीर विषय भएको उल्लेख गर्दै राजनीतिक दलसँग आबद्ध पत्रकारिताले स्वतन्त्रताको मर्म कमजोर बनाउने बताउनुभयो। ह्यूमन राइट्स मकवानपुरकी प्रतिनिधि कुमारी वाइबाले आवाजविहीनको आवाज उठाउँदा समेत पत्रकारमाथि आक्रमण हुने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।

कार्यक्रमका सहभागीहरूले मिडियामाथि बढ्दो दबाब, असुरक्षा, आर्थिक समस्या, विश्वसनीयतामा आएको कमी तथा सामाजिक सञ्जालसँगको प्रतिस्पर्धा जस्ता विषयमा आफ्ना धारणा राखेका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.