हेटौँडा । मकवानपुर जिल्लामा यस वर्ष वन डढेलोका घटना अघिल्ला वर्षहरूको तुलनामा कम देखिएका छन्। २०८१ साल फागुनदेखि २०८२ जेठसम्मको अवधिमा ५७४ दशमलव २५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको तथ्यांक सार्वजनिक गरिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार उक्त अवधिमा डढेलोका कारण १०२ वटा रुख, १ हजार १३७ खम्बा, १० हजार २९९ लाथ्रा तथा १ लाख ३५ हजार ६२ बिरुवामा क्षति पुगेको छ। चालु आर्थिक वर्षमा भने चैत महिनामा मात्रै डढेलोका घटना भएका थिए, जसमा करिब ५ हेक्टर वन क्षेत्र प्रभावित भएको वन कार्यालयले जनाएको छ।
देशका ७७ जिल्लामध्ये मकवानपुर वन डढेलोको जोखिमका आधारमा १८ औँ स्थानमा पर्ने उल्लेख गरिएको छ। डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको पनि जनाइएको छ। पानी पोखरी तथा सिमसार व्यवस्थापनअन्तर्गत २१ स्थानमा नयाँ पोखरी निर्माण भइरहेको छ भने २२५ हेक्टर क्षेत्रफलमा वन पत्ल्याउने (थिनिङ) कार्य सम्पन्न भइसकेको छ।
त्यसैगरी, डढेलो नियन्त्रणका लागि ३७ दशमलव १ किलोमिटर पुराना अग्निरेखाको सरसफाइ र थप ४ किलोमिटर नयाँ अग्निरेखा निर्माण गरिएको छ। डिभिजन वन कार्यालयमार्फत १० वटा र सामुदायिक वन उपभोक्ता समितिमार्फत ५ वटा गरी १५ वटा पात फुक्ने मेसिन प्रयोग गरी सुकेका पात व्यवस्थापन गरिएको छ।
डढेलो न्यूनीकरणका लागि २०८२ फागुनदेखि २०८३ जेठसम्म प्रत्येक सामुदायिक वनमा कम्तीमा दुई जना वन हेरालु परिचालन गरिएको छ। साथै, डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि संघीय वन तथा वातावरण मन्त्रालयले ५ लाख रुपैयाँसम्मको सामूहिक दुर्घटना बीमा व्यवस्था गरेको छ।
चैत १ देखि ७ गतेसम्म सञ्चालन गरिएको डढेलो व्यवस्थापन अभियानअन्तर्गत ८ वटै सब–डिभिजन वन कार्यालयमार्फत सचेतनामूलक र्याली, विद्यालयस्तरीय कार्यक्रम, माइकिङ तथा नियन्त्रित डढेलो अभ्यासजस्ता गतिविधि सञ्चालन गरिएको डिभिजनल वन अधिकृत राकेश कुमार चन्द्रवंशीले जानकारी दिए।
पछिल्ला २५ वर्षको विवरण हेर्दा मकवानपुरमा सबैभन्दा बढी वन डढेलोबाट क्षति सन् २०१३ मा भएको थियो, जहाँ १२ हजार २२१ दशमलव ३ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो। त्यस्तै, सन् २०२१ मा ६ हजार ९७९ दशमलव ९ हेक्टर वन क्षेत्र डढेलोबाट क्षतिग्रस्त भएको थियो।
तथ्यांकअनुसार बागमती गाउँपालिका र बकैया गाउँपालिका वन डढेलोको उच्च जोखिममा रहेका क्षेत्रका रूपमा चिनिएका छन्।































