बागमतीमा मानव अधिकार उल्लंघनका घटना वृद्धि, ३ हजारभन्दा बढी पीडित

हेटौँडा । बागमती प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा उल्लेखनीय वृद्धि भएको तथ्य सार्वजनिक भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक–२०२५ अनुसार प्रदेशभर कुल ३ हजार १ सय ९६ जना विभिन्न घटनाबाट पीडित भएका छन्।

तथ्यांकले सन् २०२४ को तुलनामा २०२५ मा उल्लंघनका घटनामा वृद्धि भएको स्पष्ट देखाएको छ। अघिल्लो वर्ष राज्यपक्षबाट ३१३ र अन्य पक्षबाट १ हजार ८६४ गरी २ हजार १ सय ७७ जना पीडित भएकोमा यस वर्ष संख्या उल्लेख्य रूपमा बढेको हो।

पीडितमध्ये १ हजार ९५ महिला, २ हजार ९३ पुरुष, ७ जना पहिचान नखुलेका र १ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका रहेका छन्। राज्यपक्षबाट मात्र १ हजार ९६६ जना प्रभावित भएका छन्, जसमा १८५ महिला र १ हजार ७८१ पुरुष छन्। त्यस्तै अन्य पक्षबाट ९१० महिला र ३१३ पुरुष पीडित बनेका छन्।

जिल्लागत विवरण अनुसार काठमाडौंमा सबैभन्दा धेरै मानव अधिकार उल्लंघनका घटना दर्ता भएका छन्। यहाँ राज्यपक्षबाट १ हजार ८०० र अन्य पक्षबाट ५५५ गरी कुल २ हजार ३५५ घटना भएका छन्। अन्य जिल्लामध्ये चितवनमा २४२, ललितपुरमा ९५, काभ्रेमा ९४, सिन्धुपाल्चोकमा ७७, भक्तपुरमा ७६, धादिङमा ६५, नुवाकोटमा ४७ र मकवानपुरमा ४६ जना पीडित भएका छन्। त्यस्तै रामेछापमा ३५, सिन्धुलीमा ३४, दोलखामा ३३ र रसुवामा सबैभन्दा कम ८ जना पीडित रहेका छन्।

यद्यपि, केही क्षेत्रमा सुधार देखिएको छ। बाल अधिकार हननका घटना २०२४ मा ५५७ रहेकोमा २०२५ मा घटेर २२९ मा झरेका छन्। महिला अधिकार उल्लंघनका घटना पनि १ हजार ७७ बाट घटेर ६२० मा सीमित भएका छन्।

इन्सेक बागमती प्रदेशका अनुसार जातीय विभेदका ३ वटा घटना दर्ता भएका छन्। साथै, प्रदेशभर ४८ जनाको कारागारमा र १ जनाको हिरासतमा ज्यान गएको छ। त्यस्तै, यस वर्ष राज्यपक्षबाट ४४ र अन्य पक्षबाट ५० गरी कुल ९४ जनाको हत्या भएको विवरणमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.