हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवालाई केन्द्रमा राख्दै सराहनीय कार्यक्रम सुरु गरेको छ। वडाले आफ्ना बासिन्दाका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स सेवा तथा उपचारका लागि आवश्यक रगतको व्यवस्था उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको हो।
यस पहलपछि वडाबासीमा उत्साह देखिएको छ। विशेषगरी बिरामी पर्दा लाग्ने एम्बुलेन्स भाडा र रगत खरिदजस्ता खर्चले राहत पाउने भएपछि स्थानीयहरू खुसी भएका हुन्। वडा कार्यालयका अनुसार, अब वडाभित्रका नागरिक जहाँसुकै उपचारका लागि गए पनि एम्बुलेन्स खर्च र आवश्यक रगतको व्यवस्थापनमा आर्थिक भार कम हुनेछ। साथै, प्रत्येक घरधुरीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराइनेछ।
यो कार्यक्रम विशेषतः विपन्न तथा आकस्मिक अवस्थामा परेका बिरामीका लागि महत्वपूर्ण राहत बन्ने अपेक्षा गरिएको छ। भोर्ले टोल विकास समितिकी सचिव हरिमणी लामाका अनुसार, दैनिक जीवनसँग जोडिएका सेवामा यस्तो सहयोगले स्थानीयवासीलाई ठूलो सहजता दिएको छ।
हाल वडाभित्र रहेका २१ मध्ये १९ वटा टोल विकास समितिमा कार्यक्रम लागू गरिएको छ भने बाँकी क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको छ। वडा कार्यालयले टोल विकास समितिमार्फत आवश्यक रकम निकासा गरी सेवा सञ्चालन गर्ने जनाएको छ। यस कार्यक्रमबाट वडाभित्रका २ हजार ३०६ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्।
गत माघ महिनादेखि कार्यान्वयनमा आएको यो योजना आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिने वडाअध्यक्ष सुनिल मोक्तानले बताएका छन्। हेटौंडा उपमहानगरपालिकाभित्रका १९ वडामध्ये यस्तो सुविधा लागू गर्ने पहिलो वडा बनेको दाबी पनि गरिएको छ।































