अवसर त्यागेर उदाहरण: मन्दिरा मुक्तानले समानुपातिक सांसद नबन्ने निर्णय

हेटौँडा — नेपाली राजनीतिमा पद प्राप्तिका लागि होडबाजी बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने फरक उदाहरण प्रस्तुत गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेर पनि उहाँले सांसद नबन्ने निर्णय गर्नुभएको हो।

श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत आफूले उक्त अवसर त्यागेको जानकारी दिनुभयो। उहाँका अनुसार आदिवासी जनजाति समुदायबाट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित भइसकेकाले समानुपातिकतर्फ आफ्नो नाम कायम राख्न आवश्यक नदेखिएको हो।

मुक्तानले समावेशी प्रतिनिधित्व र भौगोलिक सन्तुलनलाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको बताउनुभयो। मधेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत ध्यानमा राख्नुपर्ने भएकाले आफूले स्वेच्छिक रूपमा समानुपातिक सांसद नबन्ने निर्णय गरेको उहाँको भनाइ छ।

यसबीच आफूले आर्थिक लेनदेनका कारण उम्मेदवारी फिर्ता लिएको भन्ने आरोपहरू सार्वजनिक भएको उल्लेख गर्दै उहाँले ती आरोप निराधार भएको स्पष्ट पार्नुभयो। पार्टीको हित, समावेशिता र राजनीतिक नैतिकतालाई ध्यानमा राख्दै स्वेच्छाले यस्तो निर्णय लिएको उहाँले दोहोर्याउनुभयो।

मुक्तानको स्थानमा मधेश प्रदेशको धनुषाबाट मधेशी क्लस्टर अन्तर्गत रुबी कुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मुक्तानले आफू प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको दाबी गर्दै आगामी प्रदेशसभा वा स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारी रहेको जानकारी दिनुभयो। तीन महिनामै राष्ट्रिय पार्टी बन्न सफल श्रम संस्कृति पार्टीले सबै भूगोल र समुदायलाई समेट्ने प्रयास गरिरहेको सन्दर्भमा आफूले यस्तो निर्णय लिएको उहाँको भनाइ थियो।

हेटौँडा–१९ निवासी मुक्तान एक दशकभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आउनुभएको छ। यसअघि उहाँले करिब आठ वर्ष नेशनल मंगोल अर्गनाइजेशन पार्टीमा केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।

हालै सम्पन्न निर्वाचनमा मकवानपुरमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १ हजार ६ सय २४ र क्षेत्र नम्बर २ बाट १ हजार ४ सय ६७ मत प्राप्त गरेको थियो।

हेटौंडामा भएको पत्रकार सम्मेलनमा श्रम संस्कृति पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुन्दर लामा , जिल्ला अध्यक्ष युनेश लामा , पत्रकार महासङ्घका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.