विपन्न चेपाङ परिवारलाई मुख्यमन्त्रीबाट घर निर्माणका लागि पहिलो किस्ता हस्तान्तरण

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिका–१, इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ सहयोग गरेका छन्।

गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरूको उपस्थितिमा सोमबार मुख्यमन्त्री बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

सुत्केरी श्रीमतीलाई खुवाउने खानेकुरा समेत नहुँदा झुप्रोमा बस्नुपरेको अवस्थाबारे जानकारी पाएपछि गाउँपालिका र काँग्रेसको सिफारिसमा मुख्यमन्त्री बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गरेका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनले आफ्नो तलब–भत्ताबाट अति विपन्न परिवारलाई घर निर्माण गरिदिने घोषणा गरेका थिए। सोही योजनाअनुसार हाल राक्सिराङका चेपाङ परिवार र मनहरी गाउँपालिकाकी विपन्न दलित महिला मिठुमाया सुनारको घर निर्माण कार्य सुरु भएको छ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार सुमनसिंको दुई कोठा, एक भान्छा तथा ट्वाइलेट–बाथरुमसहितको घर दशैंअघि नै तयार गर्ने योजना छ। निर्माणमा लाग्ने सम्पूर्ण खर्च मुख्यमन्त्री बानियाँले नै बेहोर्ने जनाइएको छ।

यसअघि मुख्यमन्त्री बानियाँले मनहरी–९ की मिठुमाया सुनारलाई पनि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.