बागमती प्रदेशमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

हेटौंडा । गाईभैंसीमा फैलँदै गएको लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेशभर सप्ताहव्यापी खोप अभियान आइतबारदेखि सुरु गरिएको छ। बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले ललितपुरको कान्ज्योसोम गाउँपालिका–१, चौघरेमा आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरे।

मन्त्री पौडेलले राजधानी उपत्यकाको दुध आपूर्ति धान्ने क्षेत्र भएकाले ललितपुरबाट अभियान सुरु गरिएको बताए। पशुधनमा रोग फैलन नदिई सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले अग्रिम तयारीस्वरूप खोप अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।

मन्त्रालयका अनुसार प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने अभियान अन्तर्गत १ लाख २० हजार गाईभैंसीलाई खोप दिने लक्ष्य राखिएको छ। यस वर्ष ललितपुरमा १० हजार, काभ्रेपलाञ्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२ हजार–१२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार र मकवानपुरमा २५ हजार गाईभैंसीलाई खोप लगाइनेछ।

हाल बागमती प्रदेशका ११९ स्थानीय तहमा ६ लाख ९४ हजार २१७ गाई र ५ लाख ४९ हजार १८२ भैंसी रहेको तथ्यांक छ। गत आर्थिक वर्षमा प्रदेशभर ७१ हजार ९७७ गाईभैंसीलाई लम्पी स्किनविरुद्ध खोप लगाइएको थियो।

लम्पी स्किन रोग लागेपछि गाईभैंसीमा उच्च ज्वरो आउने, शरीरमा गाँठा देखिने, खुट्टा सुन्निने, हिँड्न गाह्रो हुने तथा दुध उत्पादन ८० प्रतिशतसम्म घट्ने लक्षण देखापर्छन्। २०७७ साल असारमा नेपालमा पहिलोपटक प्रमाणित भएको यो रोग अहिले सबै ७७ जिल्लामा फैलिसकेको छ।

सरकारका अनुसार लम्पी स्किन रोगका कारण हालसम्म ७५ अर्ब ४८ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। यसै वर्ष साउनदेखि भदौसम्म मकवानपुर, सिन्धुली, काभ्रे र चितवनमा मात्रै ७४ गाईभैंसीको मृत्यु भएको छ भने १,६३३ गाईभैंसी प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.