हेटौंडा । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को १९औं अभिभावक भेला सोमबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षतामा सम्पन्न उक्त भेलामा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी प्रमुख अतिथि रहनुभएको थियो।
भेलालाई सम्बोधन गर्दै मन्त्री खड्गीले विद्यालय तहमै पूर्वव्यावसायिक शिक्षा तथा नैतिक शिक्षालाई अनिवार्य रूपमा समावेश गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्तो शिक्षाले विद्यार्थीको व्यवहार, ज्ञान र भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको आगामी योजना र कार्यक्रमहरूबारे जानकारी दिनुभयो।
सोही अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक रमेश प्रसाद लामिछानेलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।
भेलामा सहायक प्रधानाध्यापक रविन्द्रकुमार गौतमले स्वागत मन्तव्य दिनुभयो भने कार्यक्रमको सञ्चालन शिक्षक माधवप्रसाद गौतमले गर्नुभएको थियो।

उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, शिक्षा विकास महाशाखा हेटौंडाका अधिकृत हरिचन्द्र सापकोटा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार गुरुप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।































