हेटौंडा । नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको व्यवस्थापनमा यही साउन ७ गते हेटौंडामा आयोजना हुने जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को तयारी तीव्र पारिएको छ।
कार्यक्रमलाई सफल बनाउन पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ। उपसमितिमा स्वयंसेवक विभागबाट ७ जना र एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी २७ जना चयन गरिएका हुन्।
संयुक्त बैठकले सुरेश बेरोजगारलाई कार्यक्रम अवधिभर स्वयम्सेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। कार्यक्रममा सहभागीलाई समुचित व्यवस्थापन, अनुशासन र सहयोग सुनिश्चित गर्न उपसमिति सक्रिय रुपमा जुट्ने जनाएको छ।
बैठकमा जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउतले जनवादी गीत र सांस्कृतिक प्रस्तुतिको तयारीबारे जानकारी गराएका थिए। त्यस्तै, पार्टी जिल्ला सदस्य शिवहरी दाहालले कार्यक्रमलाई भव्य र मर्यादित बनाउन सबैलाई सक्रिय रहन आग्रह गरे।

कार्यक्रमको प्राविधिक पक्ष, स्थल व्यवस्थापन तथा डिजिटल प्रचार सामग्रीको डिजाइन लगायतको जिम्मेवारी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनलाई दिइएको छ।
बैठक एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षतामा तथा पार्टी जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा पार्टी जिल्ला सदस्यहरु दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौंलागाईं, जनसंगठनका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।
यसै सन्दर्भमा, नेकपा एमाले मकवानपुरले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा बिहान ७ बजे श्रद्धाञ्जली सभा आयोजना गर्ने जनाएको छ। पार्टी जिल्ला सचिव सिता विष्टका अनुसार कम्युनिष्ट आन्दोलनका प्रमुख स्रोत पुष्पलालको योगदानलाई स्मरण गर्दै एमालेले हरेक वर्ष झैँ यस वर्ष पनि भव्य रुपमा स्मृति दिवस मनाउने तयारी गरेको हो।































