हेटौँडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री को जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामा केही दिनका लागि बेलायत प्रस्थान गर्न लागेकाले उनको अनुपस्थितिमा मन्त्री श्रेष्ठलाई प्रदेश सरकारको नेतृत्वको जिम्मेवारी दिइएको हो। मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको हो।
मुख्यमन्त्री लामा बेलायतमा छोरीको दीक्षान्त समारोहमा सहभागी हुनुका साथै धादिङ–नुवाकोट समाज र तामाङ समुदाय द्वारा आयोजना गरिने विभिन्न औपचारिक कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।
प्रकाश श्रेष्ठले असार २५ गतेदेखि कार्यवाहक मुख्यमन्त्रीको रूपमा बागमती प्रदेश सरकारको नेतृत्व सम्हाल्ने छन्। यो जिम्मेवारी उनले मुख्यमन्त्री लामा स्वदेश फर्किने समयसम्म निर्वाह गर्नेछन्।
यस निर्णयसँगै मन्त्री श्रेष्ठ प्रदेश सरकारको नेतृत्वमा जिम्मेवार भूमिका निर्वाह गर्दै प्रदेशस्तरीय काम कारबाहीलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
























