हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–१० को कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण सम्पन्न भएका ३४ वटा खानेपानीका धारा, ट्याङ्की र सम्बन्धित पूर्वाधारहरूको संयुक्त अनुगमन गरिएको छ। आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा अध्यक्ष सुर्यबहादुर ब्लोनसहित सरोकारवाला संस्थाहरूको सहभागितामा अनुगमन गरिएको हो।
साझेदार संस्था नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को संयोजनमा वेल्ट हंगर हिल्फे (WHH) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको सुदृढिकरण तथा व्यवहार परिवर्तन परियोजनाअन्तर्गत गाउँपालिकासँग सहकार्य गरी उक्त संरचना निर्माण गरिएको हो।
कार्यक्रम संयोजक लिलबहादुर कार्कीका अनुसार उपभोक्ता समितिको सक्रियतामा तीन महिनाको अवधिमा ३४ वटा धारा, १ बीपीटी, २ आरबीटी, १ इन्टेक निर्माण गरी खानेपानी घरघरमा पु¥याइएको हो। परियोजनाको लागतमा आरआरएनबाट १९ लाख, गाउँपालिकाबाट ६ लाख र स्थानीय उपभोक्ताबाट ६ लाख ४२ हजार रुपैयाँको लगानी गरिएको हो।
अनुगमनपश्चात अध्यक्ष मुक्तानले स्थानीय उपभोक्ताको सहभागितामूलक भूमिकालाई सराहना गर्दै खानेपानी र सरसफाई क्षेत्रमा दीगो विकास लक्ष्य अनुसार काम गर्न साझा योजना आवश्यक रहेको बताए। “हामीलाई केवल पानी होइन, सुरक्षित पानी चाहिएको हो। भौतिक, जैविक र रसायनिक प्रदूषणबाट मुक्त पानी नै मानव स्वास्थ्यको सुरक्षाको आधार हो,” उनले भने।
उनीसँगै साझेदार निर्देशक डा. सुरेश तामाङले संरचनाको दीगो प्रयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिँदै, “राज्यको नीति नै एक घर एक धारा हो। तर त्यो धारा सुरक्षित र सफा पानी दिने हुनुपर्छ,” भने। उनले विदेशी तथा सरकारी लगानीको उपयोग पारदर्शी र जिम्मेवार ढंगले गर्नुपर्ने बताए।
स्थानीय उपभोक्ता कृष्णमाया सिन्तानले पहिले खोल्साबाट फोहोर पानी बोकेर ल्याउनुपर्ने बाध्यता अहिले घरआँगनमै टुटीबाट पानी आउने अवस्थामा पुगेको बताउँदै धन्यवाद दिइन्।
कार्यक्रममा सहभागीहरूले धाराको संरक्षण, मुहान दर्ता र उपभोक्ता समितिको संस्थागत विकासका विषयमा समेत छलफल गरेका थिए। गाउँपालिकाले खानेपानीको ठूला योजना बनाई साझेदार संस्थासँग सहकार्य गरेर सम्पूर्ण बस्तीमा खानेपानी पुर्याउने योजना अघि सारेको जनाएको छ।































