हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२औँ वार्षिक उत्सव बिहीबार विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रम बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता, हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
उत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले सेवा प्रवाहमा नागरिकको अपेक्षा अनुसार ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै राज्यका संरचनाहरू उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बेला आएको बताइन्। उनले हेटौँडामा न्यूनतम १० युनिटसम्मको पानी खपत गर्ने उपभोक्ताको महसुल मिनाहा गरिएको जनाउँदै जनमुखी सेवामा प्राथमिकता दिन आग्रह गरिन्।
कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सब–इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी र सृजना अर्याल, मिटर रिडर सृजना पुलामी लगायतका कर्मचारीहरू रहेका छन्।
त्यस्तै नियमित तथा उच्च महसुल भुक्तानी गर्ने उपभोक्ता हेटौँडा सामुदायिक आँखा अस्पताल लगायतका छ जना उपभोक्ताहरूलाई पनि सम्मान गरिएको थियो। साथै, पानी चुहावटबारे सूचना दिने र सरोकारवालाबीच सहकार्य गर्ने सात जना सूचनादाताहरू तथा हेटौँडा–१६, हटियामा स्वयंसेवी रूपमा पानी ट्याङ्की सञ्चालन गर्ने चार जना समाजसेवीहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा हेटौँडा खानेपानी संस्थानबाट बोर्डमा हस्तान्तरणपछि गठित पहिलो उपभोक्ता समिति ‘मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समिति’का अध्यक्ष गोपालबहादुर थपलियालाई विशेष सम्मान प्रदान गरिएको थियो।
उक्त अवसरमा बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, स्थानीय वडाध्यक्षहरू, बोर्ड सदस्य इन्द्र नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बोर्डका निमित्त प्रमुख विष्णुप्रसाद सापकोटाले विगत वर्षको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए।































