हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत आधारभूत तथा माध्यामिक तहका सूचना प्रविधि (आईटी) स्रोत शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको पाँचदिने सूचना प्रविधि सम्बन्धी तालिम मंगलबार सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा गत शुक्रबारदेखि सञ्चालन भएको तालिममा ४३ जना शिक्षक सहभागी थिए।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको भौगोलिक विकटता र शिक्षामा सुधारको क्रमबद्ध अवस्थाका बीच पनि सूचना प्रविधिको प्रयोगले शिक्षामा नयाँ सम्भावना सिर्जना गर्ने बताए। उनले भने, “यहाँ चेतनाको कमी छ, शिक्षामार्फत नै चेतना फैलाउनु जरूरी छ। समाज परिवर्तन शिक्षाबाट हुन्छ, त्यसैले शिक्षामा समर्पण आवश्यक छ।”
मुक्तानले विद्यालयमा उपलब्ध कम्प्युटर र अन्य आईटी उपकरणको भरपूर उपयोग गर्न आग्रह गर्दै दुरुपयोग नहोस् भन्ने चेतावनी पनि दिए। आवश्यक परे तालिम र सीप अभिवृद्धिको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानले शिक्षा क्षेत्रमा गाउँपालिकाको निरन्तर लगानी रहेको जनाउँदै शिक्षकले आफनो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। उनले भने, “शिक्षक स्वयं सशक्त भए मात्र शिक्षाको गुणस्तरमा सुधार आउँछ।”
तालिममा होमबहादुर नेपाली र विवसजङ्ग थापाले सहजीकरण गरेका थिए भने विद्यालय प्रशासन सम्बन्धी विषयमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले प्रशिक्षण दिएका थिए।
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षता रहेको समापन समारोहमा प्रमुख अतिथि अध्यक्ष मुक्तान, विशेष अतिथि वडा नम्बर ९ का वडाध्यक्ष घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागी शिक्षक सीता मगर र बालचन्द्र मल्लले तालिमबाट प्राप्त अनुभव, सिकाइका पक्ष र सुधार आवश्यकताबारे धारणा राख्दै यस्ता तालिमले व्यवहारिक सुधारमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
यस तालिमले गाउँपालिकामा सूचना प्रविधिको प्रयोग र सशक्त शिक्षण पद्धति विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।