हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १६ गैरीगाउँमा गाडी भासिएर बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको प्राविधिक टोली घटनास्थलमा पुगेको छ।
मंगलबार बिहान हेटौंडा आइपुगेको चार सदस्यीय भूगर्भविदहरूको टोलीले भौगोलिक अवस्था, माटोको बनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रको विषयमा अध्ययन सुरु गरेको हो। विभागका भूगर्भविद नारायण अधिकारीका अनुसार टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी सो स्थानको चुम्बकीय क्षेत्र र भूगर्भीय एनोमली (पदार्थको असमानता) अध्ययन गर्नेछ।
गत शुक्रबार गैरीगाउँको भित्री सडकमा ना. ४ च ४८३३ नम्बरको बोलेरो गाडी माछा बोकेर रोकिने क्रममा एक्कासी अगाडिको पांग्रा भासिएको थियो। गाडी निकाल्ने प्रयास भइरहँदा जमिन अझ बढी भासिँदै गाडी पूर्ण रूपमा जमिनमुनि बेपत्ता भएको थियो।
लगातार चार दिनसम्म खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार खानी तथा भूगर्भ विभागसँग समन्वय गरी प्राविधिक टोलीमार्फत अध्ययन अघि बढाएको हो।