‘सचेत नागरिक, स्वस्थ समाज’: लागुऔषधविरुद्धको ३ महिने अभियान सम्पन्न

हेटौँडा । “सचेत नागरिक, स्वस्थ समाज, लागुऔषधविरुद्धको ३ महिने अभियान” अन्तर्गत आयोजित युवा बहस तथा सचेतना कार्यक्रमको समापन गरिएको छ। सियान रिह्याबिलिटेसन सेन्टरको व्यवस्थापन र जिल्ला प्रशासन कार्यालय, मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सियान रिह्याबिलिटेसन सेन्टर हेटौँडा-९ का अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले नेपालमा तीव्र गतिमा लागुऔषध प्रयोगकर्ता बढिरहेकामा चिन्ता व्यक्त गर्नुभयो। उहाँका अनुसार, नेपालमा हाल १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका छन्। नेपाल सरकारले सन् २०३० सम्ममा यो संख्या आधा घटाउने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका ९० जनामध्ये ६० जना लागुऔषध कारोबारी नै रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमा लागुऔषधका प्रयोगकर्ता र कारोबारीको संख्या बढ्दो छ। यही अवस्था रहे कारागार र प्रहरी हिरासतको क्षमता विस्तार गर्नुपर्ने बाध्यात्मक अवस्था आउनेछ।” साथै, उहाँले सन् २०३० सम्ममा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने सरकारी लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो।

कार्यक्रममा सियानका पूर्वअध्यक्ष बिजेन्द्र अग्रवाल, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, सियानका कार्यकारी निर्देशक सौजन डिसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। विभिन्न विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न सचेतनामूलक प्रस्तुतिहरू देखाइएको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.