हेटौँडा-४ मा ‘भान्सा नै औषधालय’ सम्बन्धी सचेतना कार्यक्रम

हेटौँडा । विश्व वातावरण दिवस-२०८३ को अवसरमा हेटौँडा उपमहानगरपालिका-४ मा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्त्वबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगहरू नियन्त्रण गर्न स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली अपरिहार्य रहेको बताउनुभयो। बेसार, अदुवा, लसुन, तुलसी र मेथीजस्ता भान्साका सामग्रीहरू औषधीय गुणले भरिपूर्ण हुने भएकाले “भान्सा नै पहिलो औषधालय” भएको उहाँको भनाइ थियो।

प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देलले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्काका परिपूरक रहेको बताउनुभयो। उहाँले स्वस्थ नागरिक निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय तहले स्वस्थ खानपान, सरसफाइ र हरियाली प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

त्यसैगरी, सभाध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो। स्वस्थ भान्सा नै स्वस्थ समाजको आधार भएको भन्दै उहाँले टोल विकास संस्थाहरूमार्फत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ लगायत नगरका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता गरी ४०० जनाभन्दा बढीको सहभागिता थियो। सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई दैनिक जीवनमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.