हेटौँडा । हेटौँडामा पहिलो पटक ‘नेवा: फुड फेस्टिबल तथा विविध सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। नेवा: फुड फेस्टिबल संगमचोक समिति हेटौँडा–२ को आयोजना र हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयको सहयोगमा आगामी जेठ १५, १६ र १७ गते संगमचोकमा महोत्सव हुन लागेको हो। समितिका अध्यक्ष अनिल कृष्ण खड्गीको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा बसेको बैठकले पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिएको हो।
महोत्सवमा नेवार समुदायको परम्परागत खानपान, भेषभूषा, गीत-संगीत र नृत्य सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण रहनेछन्। तीन दिनसम्म चल्ने फेस्टिबलको अन्तिम दिन आगन्तुकहरूलाई विशेष नेवारी भोज (सुकु भ्वय्) खुवाइनेछ भने करिब १५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रमुख अतिथि एवं हेटौँडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनले यस महोत्सवले नेवारी कला-संस्कृतिको जगेर्ना गर्नुका साथै आन्तरिक पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने बताउँदै वडा कार्यालयको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
कुल ९ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च रहेको यस महोत्सवमा ४० प्रतिशत रकम हेटौँडा उपमहानगरपालिका र वडा नं. २ को कार्यालयले ब्यहोर्ने छ भने बाँकी रकम प्रायोजकहरूबाट जुटाइनेछ। बैठकमा सचिव चन्द्र शाही, कोषाध्यक्ष आनिका श्रेष्ठ सहित सदस्यहरू मेघलाल खड्गी, सुकुमार मानन्धर, विश्वनारायण श्रेष्ठ, सुनिल खड्गी, मानकुमार चाहल, कल्पना चाहल, सुनिता पाठक र मनमाया जिम्बाको उपस्थिति रहेको थियो। महोत्सव प्रत्येक दिन दिउँसो ३:०० देखि बेलुका ९:०० बजेसम्म संचालन हुनेछ।



































































