हेटौंडा । मकवानपुर जिल्लामा सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियान प्रभावकारी रूपमा सम्पन्न भएको छ। जिल्लाका १० वटा स्थानीय तहमा लक्षित समूहका ९५ प्रतिशत नागरिकलाई खोप लगाउन सफल भएको जनाइएको छ।
मंगलबार गैर सरकारी संस्था महासंघको सभाहलमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरले अभियानको प्रगति सार्वजनिक गरेको हो। कार्यालयका प्रमुख लक्ष्मण घिमिरेका अनुसार कुल ४ हजार ३ सय १२ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ४ हजार ८६ जनाले खोप प्राप्त गरेका छन्।
जिल्लाका विभिन्न पालिकामा खोप अभियान उत्साहजनक देखिएको छ। हेटौंडा उपमहानगरपालिकामा १ हजार ९ सय ७० लक्ष्यमध्ये १ हजार ९ सय १० जनालाई खोप लगाइएको छ भने थाहा नगरपालिकामा ४ सय १३ को लक्ष्यमध्ये ३ सय ८६ जनाले खोप लगाएका छन्। त्यसैगरी, इन्द्रसरोवर गाउँपालिकामा १०३ को लक्ष्यमा ९३, कैलाश गाउँपालिकामा १९२ को लक्ष्यमा १५७ र बकैया गाउँपालिकामा ३७७ मध्ये ३४२ जनाले खोप लगाएका छन्।
अन्य पालिकातर्फ बागमती गाउँपालिकामा २७८ मध्ये २६५, भीमफेदी गाउँपालिकामा १५२ मध्ये १३१, मकवानपुरगढी गाउँपालिकामा १९३ मध्ये १९१ जनाले खोप लगाएका छन्। राक्सिराङ गाउँपालिकाले भने लक्ष्य अनुसार नै १९२ जनालाई खोप लगाएर शतप्रतिशत सफलता हासिल गरेको छ। मनहरी गाउँपालिकामा ४४२ लक्ष्यमध्ये ४२० जनाले खोप लगाएका छन्।
समग्रमा हेर्दा मकवानपुर जिल्लामा एचपीभी खोप अभियान प्रभावकारी रूपमा कार्यान्वयन भएको र जनचेतनासँगै सहभागिता पनि उल्लेखनीय रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।































