हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पछिल्लो समयमा नैतिक शिक्षाको महत्व अझै बढेको बताएका छन्। नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौंडा–१३ को संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको पाँच दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प २०८२ को उद्घाटन गर्दै उहाँले संघीयताप्रति देखिएको नकारात्मक भाष्यलाई चिर्न नैतिक शिक्षा अपरिहार्य रहेको औंल्याए।
मुख्यमन्त्री बानियाँले कक्षा ८ सम्म नैतिक शिक्षा समावेश गर्न स्थानीय सरकारलाई आग्रह गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने गतिविधि बढेकोप्रति चिन्ता व्यक्त गरे। “लामो संघर्षबाट प्राप्त व्यवस्थाबारे गलत भ्रम सिर्जना गर्नेहरूसँग धैर्यपूर्वक परिणाममार्फत जवाफ दिनुपर्छ,” उहाँले भने।
उहाँका अनुसार नयाँ पुस्तामा संघीयता र व्यवस्थाप्रति देखिएको वितृष्णा हटाउने जिम्मेवारी नेतृत्व वर्गले वहन गर्नुपर्नेछ। संघीयता आइसकेपछि पदमपोखरीको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रले प्रदेश राजधानीलाई व्यवस्थित र विश्वासनीय बनाउन योगदान दिने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठ, प्रदेशसभा सदस्य कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो।
स्काउट ओ–रामा फेष्टिवल क्याम्प भाद्र १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ।



































































