मकवानपुर — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–५ र ६ मा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमले चुनावी माहोल थप तातेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले देशले भोगिरहेको वर्तमान संकटको समाधानका लागि नेकपाको जित अपरिहार्य रहेको दाबी गरे। राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायलाई चुनावको मूल एजेन्डा बनाइएको उल्लेख गर्दै उनले भने,
“यो चुनाव कुनै व्यक्तिको जित–हारको मात्र विषय होइन, यो भूगोलको भविष्य कसरी अगाडि बढ्ने भन्ने निर्णय हो।”
आफू बकैयामै हुर्किएको, यहीँ अध्ययन गरेको र यही समाजसँग घुलमिल भएको उम्मेदवार भएको स्मरण गराउँदै गौतमले स्थानीय समस्या र आवश्यकताबारे आफू नजिकबाट जानकार रहेको बताए। “जितेपछि गाउँ फर्किएनन् भन्ने धेरै गुनासो सुन्ने गरेको छु। म भाग्ने उम्मेदवार होइन, यहीँका समस्या बोकेर यहीँका जनतासँगै संघर्ष गर्ने उम्मेदवार हुँ,” उनले स्पष्ट पारे।
युवापुस्ताको चाहना र आक्रोशलाई सम्बोधन गर्दै उनले युवाको ऊर्जा र अनुभवी नेतृत्वको संयोजनबाट मात्रै देशलाई नयाँ दिशातर्फ लैजान सकिने धारणा राखे। कार्यक्रममा सहभागी नेताहरूले नेकपा देशलाई जोगाउने भरोसायोग्य शक्ति भएको उल्लेख गर्दै अब जनताले पनि देशको रक्षा र रूपान्तरणको जिम्मेवारी नेकपालाई दिन तयार भएको बताएका थिए। संविधानलाई जनमैत्री बनाउनेदेखि विकासका ठोस कार्यक्रम कार्यान्वयनसम्म नेकपाको भूमिका निर्णायक हुने उनीहरूको भनाइ थियो।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी माझी ‘कृपा’, प्रदेश कमिटी सदस्यहरू जीवन गोले, सुमन पाख्रिन, परशुराम गौतम, पार्टी नेता गोकर्ण खनाल, मोतिलाल सिङ्गार, बकैया गाउँपालिका संयोजक बिमल नेपाल, वाईसीएल मकवानपुर अध्यक्ष मुक्ति लामा लगायतले सम्बोधन गरेका थिए।
यस अवसरमा बकैया–६ का शहीद परिवार समित थिङलाई सम्मान गरिएको थियो। बकैया–५ मा आयोजित कार्यक्रम जमबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो भने बकैया–६ को जुनेलीबस्तीमा भएको कार्यक्रम नेकपा बकैया गाउँपालिका अध्यक्ष पुष्पराज भोलनको अध्यक्षतामा सम्पन्न भएको थियो।






























