मकवानपुर — पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कैलाश गाउँपालिकामा २५५ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ। यसका लागि गाउँपालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा बिहीबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयमा सहज वातावरण निर्माण गर्न निर्देशन दिइएको छ। उनले क्यान्सरजस्तो गम्भीर रोगको रोकथामका लागि योजनाबद्ध ढंगले कार्यतालिका बनाएर काम गर्नुपर्नेमा जोड दिए। साथै वडास्तरबाट समन्वय गरी लक्षित समूहका किशोरी पहिचान गरेर खोप अभियान सफल बनाउन आग्रह गरे।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालमा दैनिक औसत ४ महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ, जसले प्रारम्भिक उमेरमै खोपको आवश्यकता झन् स्पष्ट पारेको छ।
वडा नम्बर ९ का अध्यक्ष भूवन सिंह घलानले गत वर्ष छुटेका किशोरीलाई समेत समेटेर खोप लगाउनुपर्ने बताए। भौगोलिक विकटताका कारण विद्यालय बाहिर रहेका लक्षित उमेर समूहका किशोरीसमेत रहेको उल्लेख गर्दै उनले वडातह, स्वास्थ्यकर्मी र विद्यालयबीच सहकार्य आवश्यक रहेको बताए।
स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार यस वर्ष पालिकाभित्र विद्यालयमा अध्ययनरत २०० जना र गत वर्ष छुटेका तथा विद्यालय बाहिर रहेका ५५ जना गरी कुल २५५ किशोरीलाई खोप दिइनेछ। गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ।
वडागत विवरणअनुसार वडा १ मा ९, वडा २ मा २५, वडा ३ मा ५४, वडा ५ मा ९, वडा ६ मा १९, वडा ७ मा १९, वडा ८ मा ८, वडा ९ मा ३२ र वडा १० मा २५ जना किशोरीलाई खोप लगाइने लक्ष्य छ।
कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी दिइने यो खोप पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिन्छ। स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार १० देखि १४ वर्ष उमेर समूहमा खोप दिनु बढी प्रभावकारी हुन्छ। उनले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) का बारेमा जानकारी दिँदै ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले भिआइए विधिबाट हरेक ३ वर्षमा, र ३० वर्षमाथिका महिलाले एचपिभी विधिबाट हरेक ५ वर्षमा परीक्षण गराउनुपर्ने बताए। क्यान्सर प्रारम्भिक चरणमै पहिचान भए उपचारबाट निको हुन सक्ने उनले बताए।
गत वर्ष गाउँपालिकामा १ हजार जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ९५८ जनामा खोप लगाइएको जानकारी पनि कार्यक्रममा दिइयो।
अभिमुखीकरण कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष भूवन सिंह घलान, वडा नम्बर १० का अध्यक्ष सूर्यबहादुर ब्लोन, वडा नम्बर ४ का अध्यक्ष तिलकबहादुर मोक्तान, स्वास्थ्य चौकी इन्चार्ज तथा विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।






























