हेटौंडा — पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउने उद्देश्यले मकवानपुरमा एचपिभी (ह्यूमन प्यापिलोमा भाइरस) खोप अभियान यही माघ २५ गतेदेखि सुरु हुने भएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार विद्यालय केन्द्रीत यो अभियान माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।
कक्षा ६ मा अध्ययनरत छात्रालाई लक्षित गरी सञ्चालन गरिने अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहका कुल ४ हजार ४०३ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। सोमबार आयोजित एचपिभी खोपसम्बन्धी सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयले अभियानबारे जानकारी दिएको हो।
विद्यालय केन्द्रीत अभियानसँगै विद्यालय नजाने किशोरी तथा छुटेका समूहलाई लक्षित गर्दै फागुन २२ गतेसम्म संस्थागत तथा बाह्य खोप केन्द्रमार्फत खोप कार्यक्रम निरन्तर रहने जनाइएको छ। जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त कार्यालय प्रमुख लक्ष्मण घिमिरेका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १ हजार ९५२ जना किशोरीलाई खोप लगाइनेछ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा १०३ जना किशोरी लक्षित छन्।
अन्य स्थानीय तहमा लक्षित संख्या यस प्रकार छ: भीमफेदी १६२, बागमती २७८, बकैया ३७७, कैलाश २५५, मनहरी ४५७, मकवानपुरगढी १९३, राक्सिराङ १९२, थाहा नगरपालिका ४१३ तथा अर्को चरणमा बकैया गाउँपालिकामा ३९८ किशोरीलाई खोप दिने लक्ष्य लिइएको छ।
यो खोप कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, साथै अघिल्लो वर्ष छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दिइनेछ। आर्थिक वर्ष २०७६/०७७ बाट सुरु भएको एचपिभी खोप अभियान निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।
पाठेघरको मुखको क्यान्सर निवारणका लागि विश्वव्यापी रणनीतिअनुसार राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा नेपाल सरकारले एचपिभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको हो।
निमित्त कार्यालय प्रमुख घिमिरेले खोपबारे कुनै भ्रममा नपर्न आग्रह गर्दै महिनावारीको समयमा समेत खोप लगाउन सुरक्षित रहेको बताए। उनले भने,
“क्यान्सरका कारण महिलामा हुने मृत्युको प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो। किशोरावस्थामै खोप लगाए भविष्यमा हुने ठूलो जोखिमबाट बच्न सकिन्छ। एक पटक लगाइएको खोपले दीर्घकालीन सुरक्षा प्रदान गर्छ भन्ने अध्ययनले देखाएको छ।”
अघिल्लो आर्थिक वर्षमा मात्रै मकवानपुरमा २० हजार २९८ किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। खोपसम्बन्धी थप जानकारीका लागि निःशुल्क नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा गरिएको १ हजार ९४ महिलाको पाठेघर परीक्षणमध्ये ९४ जनामा क्यान्सरको जोखिम देखिएको थियो। चिकित्सकहरूले समयमै छोरीहरूलाई खोप लगाउँदा भविष्यको जोखिम न्यूनीकरण गर्न सकिने सुझाव दिएका छन्।
के हो एचपिभी ?
ह्यूमन प्यापिलोमा भाइरस (एचपिभी) एक सामान्य डीएनए भाइरस हो, जसका १०० भन्दा बढी प्रकार छन्। यो प्रायः छाला तथा शरीरका भित्री अंगको सतहमा हुने कोशिकामा संक्रमण गर्छ। धेरैजसो अवस्थामा यसले कुनै लक्षण नदेखाए पनि केही प्रकारका एचपिभीले जननेन्द्रिय, हातखुट्टा वा मुखभित्र ‘मुसा’ जस्ता समस्या देखाउन सक्छन्।
धेरैजसो मानिसमा शरीरको प्रतिरोधात्मक क्षमताले यो भाइरस आफैं नष्ट गरिदिन्छ। तर उच्च जोखिमयुक्त एचपिभी संक्रमणले अस्वाभाविक कोष वृद्धि गराई पाठेघरको मुखको क्यान्सरसहित अन्य क्यान्सरको खतरा बढाउन सक्छ। यही जोखिम न्यूनीकरणका लागि एचपिभी खोपलाई प्रभावकारी उपायका रूपमा लिइन्छ।






























