जनताको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्छु : नेकपा उम्मेदवार लवशेर विष्ट

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार लवशेर विष्टले आम नागरिकप्रति रहेको जिम्मेवारी निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ मा आयोजित कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान एमाले–कांग्रेस नेतृत्वको बहुमत सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण देशमा जेन–जी (Gen-Z) पुस्ताको असन्तोष र विद्रोह देखिएको दाबी गरे।

उनले जेन–जी पुस्ताको भावना र चाहनालाई नेपाली कम्युनिस्ट पार्टीले मात्र सही रूपमा प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै देशको समृद्धिको नेतृत्व पनि नेकपाले नै गर्ने बताए। “जनताको भरोसा र सक्रिय सहभागिता बिना वास्तविक परिवर्तन सम्भव हुँदैन,” विष्टले भने।

कार्यक्रममा सहभागी समानुपातिक उम्मेदवार मंगलसिं प्रजाले व्यवस्था परिवर्तनको नेतृत्व नेकपाले गरिसकेको स्मरण गराउँदै अब देशको अवस्था बदल्ने जिम्मेवारी पनि नेकपाकै काँधमा रहेको बताए। त्यसका लागि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिन उनले मतदातासँग आग्रह गरे।

नेकपाकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कुमारी मोक्तानले देशभर पाँचकुने तारा चुनाव चिह्नप्रतिको आकर्षण बढ्दै गएको बताउँदै मकवानपुरमा नेकपा पहिलो शक्ति बन्ने दाबी गरिन्।

यस्तै, पार्टीका केन्द्रीय सदस्य किशोर बर्तौलाले नीति निर्माण गर्ने शक्ति नेतृत्वमै हुनुपर्ने धारणा राखे। उनले हेटौंडा–११ लाई “असली कम्युनिस्टको किल्ला” बनाउनु आवश्यक रहेको बताए।

शहीद स्मारक नजिकको थाहा भवनमा सम्पन्न कार्यक्रममा नेता सागर बानियाँले स्थानीय बासिन्दाहरू तारा चुनाव चिह्नमा मतदान गर्न उत्साहित रहेको बताए। उम्मेदवार विष्टलाई विजयी गराउन स्थानीयहरू स्वतःस्फूर्त रूपमा प्रचारप्रसारमा जुटिरहेको उनको भनाइ थियो।

वडा नम्बर–११ का पार्टी संयोजक रामकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका नेताहरू ललित घलान, वीरबहादुर घलान ‘ज्वाला’, विवेक राई, बालकुमार मल्ललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमकै अवसरमा नेकपा प्रदेश सचिवालय सदस्य सागर बानियाँको संयोजकत्वमा १०१ सदस्यीय वडा नम्बर–११ स्तरीय प्रचार–प्रसार समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा रामकृष्ण बस्नेत, शुक्र लामा, मधुकुमार थापा र देवनारायण चौलागाईं रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.