अगुवा कार्यकर्ता भेला तथा प्रचार कार्यालय उद्घाटन, विजय गौतमप्रति जनसमर्थन विस्तार

मकवानपुर । मकवानपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमप्रति जनसमर्थन थप मजबुत बन्दै गएको स्थानीयले बताएका छन्। बागमती गाउँपालिका–९ बेतिनिका स्थानीयवासीहरूले यसपटकको निर्वाचनमा परिवर्तनको पक्षमा मतदान गर्दै विजय गौतमलाई विजयी गराउने दाबी गरेका हुन्।

स्थानीय रामबहादुर रानाका अनुसार यस निर्वाचनमा तारा चिन्हमा मतदान गरेर युवा उम्मेदवार विजय गौतमलाई जिताउने प्रतिबद्धता स्थानीयस्तरमै बनेको छ। “नाम नै विजय भएको उम्मेदवारको परिणाम पनि विजय नै हुन्छ,” स्थानीय श्यामबहादुर राना मगरले विश्वास व्यक्त गरे। त्यस्तै, महिला, दलित र पिछडिएका वर्गको आवाज उठाउने उम्मेदवारका रूपमा विजय गौतमलाई समर्थन गरिएको स्थानीय मोतिमाया किङरिङले बताइन्।

कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरूले सशक्त, सक्रिय र जुझारु नेतृत्वका रूपमा विजय गौतमलाई मकवानपुर क्षेत्र नम्बर–१ बाट उल्लेख्य मतसहित विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच बागमती गाउँपालिका वडा नम्बर–९ मा अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सदस्य अरुण बल र नेकपा केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान (मधु) ले मन्तव्य राख्दै विजय गौतमको चुनावी अभियान जनतामाझ तीव्र रूपमा फैलिरहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विजय गौतमले आफू निर्वाचन जित्नका लागि मात्र नभई व्यवस्था र सोचमा परिवर्तन ल्याउने उद्देश्यसहित मैदानमा उत्रिएको बताए। इमान, निष्ठा र जवाफदेही नेतृत्व आफ्नो मूल आधार रहेको उल्लेख गर्दै उनले यो अभियान व्यक्तिको मात्र नभई देश र जनताको भविष्यसँग जोडिएको अभियान भएको स्पष्ट पारे। बागमती–९ बाट प्राप्त समर्थनले थप जिम्मेवारीबोध गराएको पनि उनले बताए।

कार्यक्रम निर्वाचन परिचालन कमिटी संयोजक ईन्द्रबहादुर थोकरको अध्यक्षतामा सम्पन्न भएको हो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.