हेटौँडामा गुणस्तरीय प्रारम्भिक बाल शिक्षाबारे दुईदिने प्रादेशिक सम्मेलन हुने

हेटौँडा । प्रारम्भिक बाल शिक्षाको गुणस्तर सुधारका विषयमा केन्द्रित रहँदै रातो बङ्गला फाउन्डेसनले बागमती प्रदेशस्तरीय दुईदिने सम्मेलन आयोजना गर्ने भएको छ। ‘गुणस्तरीय प्रारम्भिक बाल शिक्षा : किन र कसरी ?’ शीर्षकमा आयोजना हुने उक्त सम्मेलन २०८२ साल माघ २३ र २४ गते हेटौँडास्थित नवोदय शिशु सदन इङ्लिस माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ।

सम्मेलनमार्फत प्रारम्भिक बाल शिक्षामा देखिएका चुनौती, अवसर तथा प्रभावकारी अभ्यासहरूबारे स्थानीय र राष्ट्रिय तहका अनुभवहरू आदान–प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

ललितपुरमा २०५९ सालमा स्थापना भएको रातो बङ्गला फाउन्डेसनले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि लामो समयदेखि काम गर्दै आएको छ। संस्थाले शिक्षक क्षमता विकास, अभिभावक सचेतना, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण तथा कक्षाकोठा व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

फाउन्डेसनले यसअघि सन् २००३ मा राष्ट्रिय सम्मेलन तथा सन् २०१३, २०१९ र २०२४ मा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गरिसकेको छ। ती कार्यक्रमहरूमा करिब दुई हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद् तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो भने नेपाल सरकार, शिक्षा मन्त्रालयको समेत सहकार्य रहेको थियो।

आगामी सम्मेलनमा संघीय संरचनाअनुसार शिक्षा प्रणालीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिनेछ। साथै, शिक्षण सिकाइ प्रक्रियामा सुधारका उपायहरू, बालमैत्री विद्यालयको अवधारणालाई व्यवहारमा उतार्ने तरिकाहरू र स्थानीय सरकारको भूमिकाबारे अनुभव आदान–प्रदान गरिनेछ।

बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब २५० जना शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी हुने अपेक्षा गरिएको यस सम्मेलनले स्थानीय तहसँगको सहकार्यलाई सुदृढ बनाउँदै शिक्षाको गुणस्तर उकास्न साझा दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

कार्यक्रमको पहिलो दिन माघ २३ गते दिउँसो २:३० बजेदेखि उद्घाटन समारोह तथा मुख्य सत्रहरू सञ्चालन हुनेछन् भने दोस्रो दिन माघ २४ गते बिहान ८:०० बजेदेखि विषयगत छलफल, नेटवर्किङ तथा खुला स्टलहरूको व्यवस्था गरिनेछ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.