हेटौँडा । मकवानपुर प्रहरीले पछिल्ला तीन दिनयता छुट्टाछुट्टै अपरेसनमार्फत ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ।
१५७ किलो गाँजासहित कन्टेनर चालक पक्राउ
भाद्र ३१ गते बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेबाट खटिएको संयुक्त टोलीले भैसे चेकपोष्टमा पालुङबाट हेटौडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नम्बरको भाडा कन्टेनर रोकेर चेकजाँच गरेको थियो।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ का ४१ वर्षीय चालक बिरबहादुर तामाङले चलाएको सो कन्टेनरको पछाडिको डिब्बामा लुकाइछिपाइ ल्याइएको अवस्थामा १२ वटा पोका सहित १५७ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। कन्टेनर सहित गाँजा बरामद गरी तामाङलाई नियन्त्रणमा लिइ अदालतको अनुमति अनुसार थप अनुसन्धान भइरहेको छ।
५ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई जना पक्राउ
भाद्र ३० गते राति करिब ८ बजे प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१२, सिक्रेनीमा उमेश लामाको घरमा छापा मारेको थियो। सो क्रममा लागुऔषध बिक्री वितरण भइरहेको अवस्थामा मकवानपुरकै उमेश लामा (२५) र विनोद गुरुङ (२९) पक्राउ परेका हुन्।
उनीहरुको साथबाट सानो-सानो पुरीया बनाएर झोलामा राखिएको करिब ५ ग्राम ३०० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। दुवै जनामाथि अदालतको अनुमति लिएर अनुसन्धान भइरहेको छ।
२२५ क्याप्सुल ट्रामाडोलसहित युवक नियन्त्रणमा
त्यसअघि भाद्र २९ गते राति १२:२५ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङ सिमलटार क्षेत्रमा अपरेसन चलाएको थियो।
सो क्रममा मकवानपुरकै २३ वर्षीय अजय रिजाललाई फेला पारी खानतलासी गर्दा उनको साथबाट २२५ क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ। रिजालमाथि समेत अदालतको आदेशअनुसार थप अनुसन्धान भइरहेको छ।































