बागमती कांग्रेस संसदीय दलको नेतामा फेरि लामा र बानियाँ भिड्ने

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताका लागि फेरि एकपटक बहादुर सिंह लामा र इन्द्र बानियाँबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार हुने निर्वाचनका लागि दुवैले उम्मेदवारी दर्ता गराएका छन्।

लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार छन् भने समर्थकमा कुन्दनराज काफ्ले र रामकुमार पहाडी रहेका छन्। इन्द्र बानियाँको उम्मेदवारी भने यांकिला शेर्पाको प्रस्तावमा र कृष्णकुमार तामाङको समर्थनमा दर्ता गरिएको छ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारी दर्ता कार्यक्रम बुधबार बिहान ११ बजे सम्पन्न भएको हो। प्रारम्भिक नामावली ११:३० बजे सार्वजनिक हुने छ भने उम्मेदवारी फिर्ता लिन दिउँसो १२ बजेसम्म समय दिइएको छ। अन्तिम नामावली दिउँसो १ बजे प्रकाशित हुनेछ र मतदान प्रक्रिया २ देखि ३ बजेसम्म चल्नेछ।

मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य गरिएको छ। मतदान सकिएपछि तत्काल मतगणना सुरु गरिने र सोही दिन नतिजा सार्वजनिक गरिनेछ।

निर्वाचन समितिमा हरिशरण श्रेष्ठसँगै ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य रहेका छन्।

मुख्यमन्त्री रहेका लामा हालै मात्रै विश्वासको मत गुमाएका थिए। गत शुक्रबार अविश्वास प्रस्तावमा २२ मत विपक्षमा परेको थियो भने लामाले १५ मत मात्रै पाएका थिए। २०७९ को संसदीय दल निर्वाचनमा पनि लामा र बानियाँबीच प्रतिस्पर्धा भएको थियो, जसमा लामा विजयी भएका थिए।

अब पुनः उनीहरूबीचको प्रतिस्पर्धाबाट को दलको नेतृत्वमा आउने भन्ने चासो बढेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.