विपत् प्रतिकार्यमा जुट्न बागमति प्रदेश प्रमुखको अपिल

मकवानपुर । छिमेकी देश चीनको तिब्बत क्षेत्रमा परेको अत्यधिक वर्षापछि भोटेकोसी नदीमा एक्कासी आएको भीषण बाढीले मुख्यतः बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएपछि बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोगमा जुट्न अपिल गर्नुभएको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये केहीको शव फेला परेको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले विपद्को यस घडीमा पीडित तथा प्रभावितलाई सक्दो सहायता पुर्‍याउन आग्रह गर्नुभएको हो। सोमबार राति चीनतर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारीसाधन, जलविद्युत परियोजनालगायत संरचनामा ठूलो क्षति पुर्‍याउनुका साथै सडक समेत बगाएको जनाइएको छ।

‘यो विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था, रेडक्रस र अन्य परोपकारी निकायहरूलाई उद्धार र राहत कार्यमा जुट्न तथा तयारी अवस्थामा रहन विशेष अनुरोध गर्दछु,’ उहाँले सार्वजनिक गर्नुभएको अपिलमा उल्लेख छ।

हाल नेपालका विभिन्न जिल्लाहरूमा समेत वर्षा जारी रहेको र मौसम पूर्वानुमान अनुसार बागमती प्रदेशलगायतका क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हुँदा प्रदेश प्रमुखले सबैलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

उहाँले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास नगर्न, बाढीले बगाएर ल्याएका काठ दाउरा संकलन गर्न नजान र अरु कसैले गएका अवस्थामा समेत रोक्न अनुरोध गर्दै संभावित जोखिमबाट बच्न सजग रहन अपिल गर्नुभएको छ।

‘यो दुःखद घडीमा आ–आफ्नो ठाउँबाट विपद् प्रतिकार्यमा जुट्न सबैमा हार्दिक आह्वान गर्दछु। उद्धार तथा राहत कार्यमा कुनै कमी नहोस् भन्नेमा सम्बन्धित निकायहरूलाई विशेष ध्यान दिन आग्रह गर्दछु,’ प्रदेश प्रमुख देवकोटाले भनेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.