हेटौँडा । युवालाई रोजगारीमा प्रत्यक्ष रुपमा जोड्ने उद्देश्यले ‘बागमती युवा उद्यमी रोजगार महोत्सव २०८२’ हेटौँडामा आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार १४ र १५ गते महोत्सव सञ्चालन गरिने भएको हो।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार महोत्सवको मुख्य उद्देश्य रोजगारको खोजीमा रहेका युवाहरूलाई रोजगारदातासँग प्रत्यक्ष अन्तर्वार्ता गराई रोजगारीको अवसर प्रदान गर्नु हो। कार्यक्रम हेटौंडास्थित पल्पसा प्याराडाइजमा सञ्चालन हुनेछ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष उज्वल चौंलागाईले जानकारी दिएअनुसार महोत्सवमा २५ भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूले प्रत्यक्ष अन्तर्वार्तामार्फत रोजगार दिनेछन्। कक्षा १२ सकेर बसेका विद्यार्थीदेखि विभिन्न तहका बेरोजगार युवाहरूसम्मले लाभ लिन सक्ने महोत्सवमा रोजगारीसँगै विभिन्न सिप विकासका कार्यक्रमसमेत समावेश गरिएको छ।
महोत्सवमा ‘अन द स्पट’ रोजगारी प्रदान गर्नुका साथै क्यारियर मार्गदर्शन, व्यवसायिक अवसर, बजारीकरण तालिम, बैंक कर्जा जानकारी, उद्यमशीलता प्रवद्र्धन, आत्मविश्वास विकास, सीभी लेखन र अन्तर्वार्ता तयारीसम्बन्धी कार्यशाला तथा विषयगत अन्तरक्रिया पनि गरिनेछ।
दुई दिने महोत्सवको उद्घाटन श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले गर्नेछन्। महोत्सव सञ्चालनका लागि अनुमानित १४ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ, जसमध्ये श्रम मन्त्रालयले ९ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ।





























