हेटौंडा उपमहानगरको २ अर्ब ९० करोडको बजेट सार्वजनिक, सामाजिक विकास र पूर्वाधारमा जोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभा बैठकमा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्नुभएको हो।

गत वर्षको तुलनामा १९ प्रतिशतले वृद्धि गरिएको बजेटमा आन्तरिक आय, राजस्व बाँडफाँड, संघीय–प्रदेश सरकारको अनुदान, र नगर विकास कोषको ऋणलाई स्रोतको रुपमा उल्लेख गरिएको छ।

उपमहानगरले आन्तरिक आयबाट ६२ करोड ७६ लाख, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख, संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख, प्रदेश सरकारबाट ११ करोड ४५ लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

बजेटमा सामाजिक र पूर्वाधार विकासमा जोड दिइएको छ। प्रशासनिक खर्चका लागि ५९ करोड ६५ लाख, सुशासनतर्फ ३ करोड ८८ लाख, शिक्षामा ५ करोड ५१ लाख र स्वास्थ्य सेवामा २ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ।

हेटौंडा अस्पतालमा बाल एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनका लागि २ करोड रुपैयाँ छुट्याइएको छ भने भुटनदेवी माविमा मेघा विद्यालय पूर्वाधार निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ।

सामाजिक समावेशीकरण र ज्येष्ठ नागरिक कार्यक्रमका लागि १ करोड ३३ लाख, न्यायिक समिति व्यवस्थापनमा ७५ लाख, संस्कृति प्रवद्र्धनमा १ करोड २० लाख, सामाजिक विकास कार्यक्रम अन्तर्गत १६ करोड ८३ लाख विनियोजन गरिएको छ।

वातावरण र विपद् व्यवस्थापनमा पनि ठूलो ध्यान दिइएको छ। हरियाली, जलवायु, फोहोरमैला व्यवस्थापन, नाला, ढल, खानेपानी र सरसफाइका लागि ३ करोड १५ लाख बजेट छुट्याइएको छ भने वातावरण विकास कोषमार्फत ६ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय महिला फुटबल, मेयर कप, उपमेयर कप लगायतका प्रतियोगिताका लागि २ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ। सीप विकास, खेल सामाग्री र पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिइएको छ।

आर्थिक विकास क्षेत्रमा ४ करोड ६९ लाख बजेट विनियोजन गर्दै स्वरोजगार कार्यक्रम, काष्ठकला, सुशी, चिज उद्योग, खोस्टाबाट चकटी बनाउने तालिम सञ्चालन गरिनेछ। साथै अटोभिलेज (हेटौंडा–११), वाटर फन पार्क (हेटौंडा–१४), गंगा आरती स्थल (हेटौंडा–१०) का लागि बजेट छुट्याइएको छ।

उपमहानगरले निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन सञ्चालनमा ल्याउन ४ करोड रुपैयाँको बजेट व्यवस्थापन गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.