हेटौँडा । मकवानपुर गढी पर्यटन विकास समन्वय समितिको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रवार हेटौँडामा सम्पन्न समितिको १५ औँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले केदार प्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिमा शंकरलाल श्रेष्ठ उपाध्यक्ष, ओकिलराज बानिया सचिव, शंकर बि.सी. कोषाध्यक्ष र अनिल पराजुली सह–सचिव पदमा चयन भएका छन्। त्यस्तै, एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल सदस्य पदमा चयन भएका छन्।
समितिको सल्लाहकार तथा संरक्षकमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन्।
कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले ब्यानर पढेर गरेकी थिइन्। प्रमुख अतिथिको रूपमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
अध्यक्ष न्यौपानेले मकवानपुर गढी, ढुङ्गे गढी, अम्बास गढी, चिसापानी गढी, पालुङ गढी, टिस्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढीजस्ता ऐतिहासिक गढीहरू प्रचारप्रसारको अभावमा ओझेलमा परिरहेको बताए। उनले पालिका र नेपाली सेनासँग सहकार्य गरेर गढीहरूको महत्व उजागर गर्ने योजनाबद्ध प्रतिबद्धता व्यक्त गरे।
समारोहमा विगतमा समितिका विभिन्न पदमा रहेर योगदान दिने व्यक्तिहरूलाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो।