हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा जिल्लाका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ।
शनिबार हेटौंडामा आयोजित कार्यक्रममार्फत गोकुल अधिकारी, अनन्त वाग्ले, रेनिस फागो र बालकलाकार शुपला सापकोटा सम्मानित भएका हुन्।
रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जका स्टेशन म्यानेजरसमेत रहेका सञ्चारकर्मी गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट सम्मान गरिएको छ। अधिकारी दुई दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन्।
तीन दशकभन्दा लामो समयदेखि छापा पत्रकारितामा क्रियाशील वरिष्ठ चलचित्र पत्रकार अनन्त वाग्लेलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ अन्तर्गत नगद ११ हजार १११ रुपैयाँ सहित पुरस्कृत गरिएको हो।
रंग संयोजनमार्फत नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिएका रेनिस फागोलाई स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ प्रदान गरिएको छ। उनले ‘प्रेम गीत’ सिरिजदेखि ‘सेतो बाघ’ जस्ता चर्चित चलचित्रमा कार्य गरिसकेका छन्।
चलचित्र ‘बोक्सीको घर’बाट अभिनय यात्रा सुरु गर्दै चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ।
कार्यक्रम संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षता र बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्व अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्व अध्यक्ष राममणि दाहाललगायत विभिन्न सञ्चार तथा चलचित्र क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संघको स्थापना वि.सं. २०५६ सालको जेष्ठ ७ गते भएकोले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरिन्छ।