हेटौँडा । हेटौंडामा गैसस महासङ्घ बागगमती प्रदेश समितिले धर्ना कार्यक्रम गरेको छ । ‘लोकतन्त्र , मानव अधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गरौं , अराजकता र हिंसालाई निरुत्साहित गरौं’ भन्दै हेटौंडाको बुद्ध चोकमा बृहत नागरिक धर्ना कार्यक्रम गरिएको गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कमलकुमार विश्वकर्माले बताए ।
चैत १५ गते काठमाडौंमा भएको राजावादीहरुको आन्दोलनमा पत्रकारलाई जिउँदै जलाएर मार्ने , आम नागरिकको हत्या गर्ने , नागरिकको घरमा तोडफोड , आगजनी , ब्यापारिक महलमा तोडफोड , लुटपाट , चोरी गर्ने र प्रहरी , प्रशासनमाथि ढुङ्गा हान्ने लगायतका जुन किसिमको गतिविधि भयो ती सबै अनागरिक कृयाकलाप भएको अध्यक्ष विश्वकर्माले बताए ।
‘त्यस्ता कुराको नागरिक समाजले घोर भत्सर्ना गर्दछ । यो लोकतान्त्रिक गणतन्त्रमाथिको ठाडो प्रहार हो । गैरसरकारी संस्था महासङ्घ तथा नागरिक समाजले हिजोपनि यसको विरोध गरेको थियो आज पनि गर्छ र भोलि पनि गर्नेछ’– प्रदेश समिति अध्यक्ष बिश्वकर्माले बताए ।
‘हत्या , हिंसा र लुटपाट बन्द गर , सामाजिक अराजकता बन्द गर , दास र रैती बन्दैनौ , मानव अधिकारको ग्यारेन्टी गर’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नागरिक सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका थिए ।



































































