मकवानपुर । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधामा योगदान पुर्याएका ११ जना स्रष्टालाई सम्मान गरेको छ। शनिबार भएको विशेषमा चार वटा राष्ट्रिय पुरस्कार र सात वटा सम्मान प्रदान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहितका अतिथिहरुले स्रष्टाहरुलाई पुरस्कार वितरण गरेका थिए ।

भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८१ काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार तथा साहित्यकार ठाकुर बेल्वासेलाई प्रदान गरिएको छ । यी राष्ट्रिय पुरस्कार प्राप्तकर्ता प्रत्येकलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यसैगरी, प्रतिष्ठानले अन्य सात विधामा समेत विशेष सम्मान प्रदान गरेको छ। तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मान मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मान मकवानपुरकै उद्यमी मेनका श्रेष्ठ र चिनुकुमारी लामा स्मृति साहित्य सम्मान मकवानपुरका बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई प्रदान गरिएको छ ।

लोकसंगीतमा योगदान पुर्याएको भन्दै पर्वतका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा लाई रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मान नगद २० हजारसहित प्रदान गरिएको छ । यसैगरी, मकवानपुरकै विद्यार्थी रितिका छत्कुलीलाई भीम–मथुरा बाल प्रतिभा सम्मान, स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत निर्मला ब्लोनलाई मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मान, र दृष्टिविहीन भए पनि प्रविधिमा दक्षता देखाएका मकवानपुरका मेकानिक सुदर्शन ढकाललाई अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मान प्रदान गरिएको छ ।




































