मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा विद्यूतको पोलमा आगलागीको घटना बढ्दै गएको छ । हेटौँडा बजार क्षेत्रका पोलमा बितेको एक महिनामा ५ पटकभन्दा बढी पटक आगलागीका घटना भएका छन् ।
आज पनि हेटौँडा ४ पारिजात पथमा विद्यूतको पोलमा आगलागी हुँदा अहिले हेटौँडाका केही क्षेत्रमा विद्यूत आपुर्ति बन्द हुनुका साथै ईन्टरनेट सेवा पनि बन्द भएको छ । आज दिउँसो पोलमा विद्यूत सर्ट भइ आगलागी भएपछि ईन्टरनेट सेवा प्रदायकहरुको तारहरुमा समेत ह्वारह्वार्ती आगो लागेको थियो । विद्यूतको पोलमा आगलागी भएको लामो समयसम्म पनि प्राधिकरणमा जानकारी नपुग्दा स्थानीयहरु करेन्ट लागेर थप क्षति हुनसक्ने देखेर आतंकित भएका थिए । हाल त्यस क्षेत्रमा विद्यूत तथा ईन्टरनेट सेवा सुचारुका लागि काम हुँदैछ । यद्यपि वर्षाका कारण काम सम्पन्न भएको छैन ।
यस्तै किसिमका आगालगी केही हप्ता अघि मात्रै हेटौँडा ४ खोपेगल्ली र कान्तिराजपथ क्षेत्रमा पनि भएको थियो । त्यस समयमा पनि विद्यूत तथा ईन्टरनेट सेवा बन्द भएको थियो । त्यस्तै हेटौँडा ४ स्कूल रोड चोकमा तथा पारिजात पथकै अन्य स्थानमा पनि पटक पटक आगलागीका घटना भएका छन् । यसबाट दिनदहाडै मानिसको ज्यानै जानसक्ने जोखिम समेत बढेको छ ।
विशेषगरी हेटौँडा बजार क्षेत्रमा विद्यूतको आपुर्ति बढेका कारण अहिले यस क्षेत्रमा ट्रान्सफर्मरहरुले समेत लोड धान्न मुस्किल भएको देखिन्छ । जसका कारण हप्तैपिच्छे यस्तो आगलागीका घटना भइरहेको स्थानीयहरु बताउँछन् ।