मकवानपुर । पूर्व–पश्चिम राजमार्ग हुँदै राक्सिराङ गाउँपालिकाको केन्द्रसम्म आवत–जावत गर्ने दुबै बाटो निरन्तर वर्षाका कारण बन्द भएको छ । विगत केही दिनदेखिको भारी वर्षाको कारण गएको पहिरोले गर्दा राजमार्गदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सिम्पानी सरिखेत सडक र मनहरी चैनपुर सडक दुवै अवरुद्ध भएको राक्सिराङ गाउँपालिकाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार त्यस क्षेत्रमा आज राति पनि भारी बर्षाको सम्भावना रहेको र अझै केही समय प्रकोपको सम्भावना देखिएकाले सचेत रहनका लागि गाउँपालिकाले सूचना जारी समेत गरेको छ । गाउँपालिकाका अनुसार वर्षा केही क्षण रोकिए पनि सडकमा ढुंगा झर्ने, लेदो बग्ने, रुख ढल्ने जस्ता अवरोध आउन सक्ने सम्भावना रहेको छ ।
गाउँपालिकाले जोखिमपूर्ण सडकहरु प्रयोग नगर्न, खोलाहरुमा सकेसम्म नपस्न र सम्भव भएसम्म झोलुङ्गे पुलको प्रयोग गरेर मनसुनजन्य विपदबाट हुन सक्ने क्षति न्युनीकरणमा सहयोग गरिदिनका लागि पनि आग्रह गरेको छ ।