८२ वर्षको उमेरमा पनि सक्रिय गणेशबहादुर: काम गर्नेलाई उमेरले छेक्दैन

हेटौँडा । मकवानपुरको आग्रा, भोर्लेमा जन्मिएका गणेशबहादुर विश्वकर्मा ८२ वर्षको उमेरमा पनि निरन्तर आफ्नो कर्ममा सक्रिय हुनुहुन्छ। ८ दशक नाघिसक्दा पनि उहाँको कामप्रतिको लगाव युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

कृष्णबहादुर र तुलसी विश्वकर्माका जेठा सन्तानका रूपमा जन्मिनुभएका विश्वकर्मा अहिले पनि हेटौँडा-११, सिमल्टारस्थित आफ्नै घरको आरनमा हँसिया, कचिया, तरबार, बन्चरो, कोदालो, चुलेसी र खुकुरीलगायतका औजारहरू आफैँ बनाउनुहुन्छ। ‘रसैली बा’ का नामले परिचित उहाँले केही समयअघि ढलौट, पित्तलका गाग्री र सिल्भरका कढाई बनाउने कारखानासमेत सञ्चालन गरी २० जनालाई रोजगारी दिनुभएको थियो। उहाँले सिकाएको सीपबाट धेरैले अहिले पनि रोजगारी गरिरहेका छन्।

परम्परागत आरन पेसालाई फोहोरी काम भन्दै धेरैले छाडेकोमा उहाँलाई चिन्ता लाग्छ। “धेरै युवा बेरोजगार छन्, सीप नहुँदा विदेश गएर पनि मजदुरी गर्नुपरेको छ,” उहाँ दुखेसो गर्नुहुन्छ। आफ्ना धेरै दौँतरीहरू बितेका र कतिपय थला परेका भए पनि उहाँ भने बाबुबाजेले सिकाएको सीपमा निरन्तर लागिरहनुभएको छ। “काम गरेपछि दुई-चार सयका लागि अरूसँग हात फैलाउनु पर्दैन,” उहाँको दृढ धारणा छ।

उमेर ढल्किँदै जाँदा कामको गतिमा केही सुस्तता आएको उहाँ आफैँ महसुस गर्नुहुन्छ। “पहिला एकै दिनमा बन्ने सामान अहिले तीन-चार दिन, कहिलेकाहीँ त एक हप्ता पनि लाग्छ। त्यतिबेला मात्र मलाई आफू बूढो भएँ कि जस्तो लाग्छ,” उहाँ मुस्कुराउँदै भन्नुहुन्छ।

ठिक खानपान, पूरा निन्द्रा, केही व्यायाम र निरन्तरको कामले मानिसलाई निरोगी र दीर्घायु बनाउने उहाँको अनुभव छ। सक्रिय जीवनशैली र मेहनतको उदाहरण बन्नुभएका विश्वकर्मा भन्नुहुन्छ, “काम गर्नेलाई उमेरले कहिल्यै छेक्दैन।”

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.