हेटौंडा । हेटौंडा-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयले एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सम्बन्धित शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यार्थीको हौसला बढाउन र आगामी शैक्षिक यात्रामा थप सफलताका लागि प्रेरित गर्ने उद्देश्यले विद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौलाले भने, “उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गर्दा विद्यालयको शैक्षिक स्तरमा सुधार हुनुका साथै विद्यार्थीको आत्मविश्वासमा समेत वृद्धि हुन्छ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य जनक लम्सालको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा आयुष सञ्जेल (३.७५ GPA), प्रणय घिमिरे (३.६० GPA), कृष्णप्रसाद खतिवडा (३.५४ GPA), पुष्पराज घताने (३.३२ GPA), आशिका श्रेष्ठ (३.३० GPA) र आभाष लामिछाने (३.२० GPA) रहेका छन्। कार्यक्रममा विद्यार्थीका अभिभावकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

त्यसैगरी, आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरू दुर्गा पराजुली, नारायणप्रसाद कँडेल र दीपकप्रसाद गौतम पनि सम्मानित भएका छन्।
विद्यालयका अनुसार एसईई परीक्षा २०८२ मा विद्यालयबाट ६६ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये २६ जना उत्तीर्ण भएका छन्। उत्तीर्णमध्ये २ जनाले ‘ए+’ (A+) र ४ जनाले ‘ए’ (A) ग्रेड प्राप्त गरेका छन्। सहायक प्रधानाध्यापक बैकुण्ठ नेपालले विगतको तुलनामा यस वर्ष नतिजा उत्साहजनक रहेको दाबी गरे।



































































