हेटौंडा । हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी दोस्रो राष्ट्रिय बृहत् खेलकुद तथा कृषि–पर्यटन महोत्सव अन्तर्गत आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौं, चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले जितेको छ।
आइतबार सम्पन्न फाइनल खेलमा न्यू डायमण्डले बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई सोझो तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले २५–१३, २५–१५ र २५–२३ को नतिजासहित उपाधि आफ्नो नाममा लेखायो।
अघिल्लो संस्करणमा उपविजेतामै सीमित रहेको न्यू डायमण्ड यसपटक उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा उक्लिएको हो। समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुवै टोली फाइनलसम्म पुगेका थिए।
मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा ६ वटा राष्ट्रियस्तरका टोलीको सहभागिता रहेको थियो।
उपाधिसँगै न्यू डायमण्डले ३ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सेमिफाइनलमा पराजित स्टेप भलिबल क्लब (पाल्पा) र जनशक्ति युवा क्लब (मधेश) ले जनही ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाए।
व्यक्तिगत विधातर्फ न्यू डायमण्डकी सुनिता क्षेत्री प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले १० हजार रुपैयाँसहित मेडल प्राप्त गरिन्। उत्कृष्ट स्पाइकर जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर भावना तामाङ, उत्कृष्ट सर्भर रेबिका लामा, उत्कृष्ट ब्लकर सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक कुमार राई घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे।
पुरस्कार वितरण कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामा, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यसैबीच, महोत्सव अन्तर्गत आगामी कार्यक्रमका रूपमा राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बुधबारदेखि शुक्रबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
सेमिफाइनल चरणमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले स्टेप भलिबल क्लबलाई तथा न्यू डायमण्डले जनशक्ति युवा क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।































