स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न मुख्यमन्त्री बानियाँको आग्रह

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई राजनीतिक विवादको विषय बनाउन नहुने बताएका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा नवनिर्मित विशिष्टीकृत सेवासहितको २०० शय्याको भवन बिहीबार उद्घाटन गर्दै उनले चुनावका बेला राजनीतिक बहस स्वाभाविक भए पनि स्वास्थ्य सेवामा राजनीति गर्न नहुने धारणा व्यक्त गरे। उनले प्रतिष्ठान अहिलेसम्म राजनीतिक प्रभावबाट टाढा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई त्यही अवस्थामा राख्नुपर्ने बताए।

मुख्यमन्त्री बानियाँले हेटौँडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने प्रक्रियामा विगतमा विभिन्न मतहरू उठे पनि आफू प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहँदा संसद्बाट विधेयक सर्वसम्मत पारित गराउन पहल गरेको स्मरण गरे।

उनले अस्पतालमा यसअघि डायलोसिस सेवाका लागि १४ वटा मेसिन सञ्चालनमा रहेकामा हाल थप १६ वटा मेसिन जडान गरिएपछि कुल संख्या ३० पुगेको जानकारी दिए। साथै अस्पतालमा आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य अघि बढिसकेको बताए। उनका अनुसार अहिले प्रतिष्ठानमा भर्ना भएका विद्यार्थीले प्रमाणपत्र लिने समयसम्ममा उक्त संस्था ‘मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय’मा रूपान्तरण भइसकेको हुनेछ। उनले प्रतिष्ठानले हेटौँडा अस्पतालमा मात्रै सीमित नभई बागमती प्रदेशका सबै १३ जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

२७ करोड ३६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन तीन वटा ब्लकमा विभाजन गरिएको छ। सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार एक ब्लक अन्डरग्राउन्डसहित ६ तले र अन्य दुई ब्लक पाँच–पाँच तले संरचनामा निर्माण गरिएको हो।

प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले हेटौँडा अस्पताललाई सामान्य उपचार केन्द्रमा मात्र सीमित नराखी विशेषज्ञ तथा जटिल रोगहरूको उपचार उपलब्ध हुने क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने रणनीति अघि बढाइएको बताए।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.