इनिसाको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थी आन्दोलित

हेटौँडा / सुर्खेतकी १६ वर्षीया बालिका इनिसा बिकको हत्यारालाई कारबाहीको माग गर्दै हेटौँडाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।हेटौँडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवी मावि, सिद्धार्थ मावि लगायतका विद्यार्थीहरूले हेटौँडामा नाराजुलुस गर्दै इनिसालाई न्यायको माग गरेका हुन्।

आन्दोलित विद्यार्थीहरूले “हत्यारालाई कारबाही गर”, “नारी अस्मिताको रक्षा गर”, “बलात्कारीलाई फाँसी दे”, “बलात्कार गर्न पाइँदैन”, “इनिसालाई न्याय दे”, “We Want Justice” भन्दै नारा लगाएका थिए।

हेटौँडा क्याम्पसका अनेरास्ववियु, मकवानपुर बहुमुखी क्याम्पसका नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरूको नेतृत्वमा भएको प्रदर्शनमा करिब ५ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको हेटौँडा क्याम्पस अनेरास्ववियुका अध्यक्ष नितेश भण्डारीले जानकारी दिए।

विद्यार्थी संगठनहरूले आयोजना गरेको र्‍यालीपछि भएको कोणसभामा बोल्दै अनेरास्ववियु हेटौँडा नगर संयोजक रिजन जिसीले नारी अस्मिताको सम्मान हुनुपर्ने बताए।

“इनिसा बिक लगायत धेरै किशोरीहरूले बलात्कारपछि अकालमै निर्ममतापूर्वक ज्यान गुमाएका छन्। यस्ता कुरीतिहरूको जरैदेखि अन्त्य नभएसम्म हामी चुप लाग्दैनौँ,” जिसीले आक्रोश व्यक्त गर्दै भने।

यस्तै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता छोइसाङ तामाङले सामाजिक सञ्जालमार्फत इनिसा बिकको न्यायको विषयमा धारणा व्यक्त गरेका छन्।

तामाङले स्टाटसमा लेखेका छन्, “बलात्कार भनेको बलात्कार नै हो, यसमा जातको कुरा हुँदैन। अपराध भनेको अपराध नै हो, यसमा बालक वा वृद्ध भन्ने हुँदैन। अपराधीलाई कडाभन्दा कडा कारबाही होस्। हार्दिक श्रद्धाञ्जली इनिसा बिक।”

तामाङले इनिसाको फोटो पोस्ट गर्दै “Justice for Inisa Bik” लेखेका छन्।

शान्तिपूर्ण आन्दोलनस्वरूप र्‍याली प्रदर्शन गरेका विद्यार्थीहरूले नगर परिक्रमा गरी हेटौँडाको सिमाचोक र बुद्धचोकमा कोणसभा गरेका थिए।

इनिसा बिकको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेपछि देशभर हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन भइरहेको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.