हेटौँडा । नवसर्जक साहित्य चौतारी नेपालको ४२औँ मासिक शृङ्खलाको अवसरमा चौतारीकी बागमती प्रदेश सदस्य सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ कृतिको विमोचन तथा विमर्श कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ।
हेटौँडास्थित अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया सुमि थिङको पहिलो कृतिका रूपमा उक्त मुक्तक सङ्ग्रह प्रकाशन गरिएको हो। सानै उमेरमा साहित्य सिर्जनामा सक्रिय सुमिको कृति सार्वजनिक हुनु साहित्यिक वृत्तमा उत्साहको विषय बनेको आयोजकले जनाएको छ।
नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अग्रज साहित्यकार डा. निमेष निखिल र देवराज खरेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
विमोचित कृतिमाथि साहित्यकार सानु खनाल र विविशा रुम्बाले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए भने नवसर्जकहरू रोज कार्की र नम्रता पराजुलीले कृतिभित्रका प्रतिनिधि मुक्तकहरू वाचन गरेका थिए।
नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार तथा अमर माविका सहायक प्रअ डि.बी. बर्तौलाको सम्पादनमा प्रकाशित उक्त मुक्तक सङ्ग्रह चौतारीको केन्द्रीय समितिले प्रकाशन गरेको हो।
कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी तथा कृतिकारका आफन्तजनको उपस्थिति रहेको थियो। चौतारीले देशभरका २५ वर्षमुनिका नवसर्जकहरूको नेतृत्वमा पठन–पाठन तथा लेखन संस्कृतिको विकास गर्दै आएको महासचिव दाहालले जानकारी दिँदै नवसर्जकहरूको कृति प्रकाशनलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन्।



































































