हेटौँडा — बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्यापन औपचारिक रूपमा सुरु गरेको छ। चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले चालु शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो। नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिकामा सञ्चालन भएका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्नुभयो। उहाँले प्रतिष्ठानमा सुरु भएको एमबीबीएस कार्यक्रमले भविष्यमा दक्ष चिकित्सक उत्पादन गरी उक्त अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। मन्त्री थापाले नागरिकलाई गुणस्तरीय र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व भएको उल्लेख गर्दै हेटौँडा अस्पताल लगायत प्रादेशिक अस्पतालहरूको सेवा र सुविधामा प्रत्येक वर्ष विस्तार हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला अस्पतालका रूपमा सञ्चालन हुँदा र प्रतिष्ठान मातहत आएपछि हेटौँडा अस्पतालको सेवा स्तरमा उल्लेखनीय सुधार आएको छ। साथै, प्रतिष्ठानबाट अध्ययन गर्ने विद्यार्थीहरू भविष्यमा सक्षम र उत्कृष्ट चिकित्सकका रूपमा स्थापित हुने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो।
प्रतिष्ठानका संस्थापक कुलपति तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले प्रतिष्ठान स्थापना गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै विद्यार्थीहरूलाई अनुशासित र एकाग्र भएर अध्ययन गर्न आग्रह गर्नुभयो। उहाँले पढाइलाई प्राथमिकता दिन र अनावश्यक गतिविधिबाट टाढा रहन विद्यार्थीलाई सचेत गराउनुभयो। अन्य प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि मदन भण्डारी प्रतिष्ठानलाई नै उत्कृष्ट बनाउँदै अरू संस्थाले यससँग प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, प्रतिष्ठानलाई भविष्यमा विद्यार्थीहरूको पहिलो रोजाइको शैक्षिक संस्था बनाउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो।
हाल प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमहरू हेटौँडाको गौरिटार, हेटौँडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमाने क्षेत्रमा सञ्चालन भइरहेका छन्। यी सबै कार्यक्रमलाई एउटै स्थानबाट सञ्चालन गर्ने उद्देश्यसहित प्रदेश सरकारको करिब १२ करोड रुपैयाँ लगानीमा नयाँ भवन निर्माणको तयारी भइरहेको उपकुलपति प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
प्रतिष्ठानमा हाल एमबीबीएससँगै बीएससी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी तथा पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ। साथै सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ। यस वर्ष एमडी कार्यक्रममा थप नौ विषय समावेश गरिँदै सिट संख्या ८ बाट बढाएर २७ पु¥याइएको छ।
वि.सं. २०७६ असोज २ गते ऐन पारित भएपछि स्थापना भएको यस प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान तथा दक्ष चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। हाल एमबीबीएस कार्यक्रममा ४ विदेशीसहित कुल ४६ जना विद्यार्थी भर्ना भएका छन्।



































































