मकवानपुर । नेपाल कानून व्यवसायी परिषद लयर्स एकेडेमी समितिद्वारा संचालित वाणिज्य कानून विषयक आधारभूत तालिम समापन भएको छ । मंसिर ८ गतेदेखि शुरु भएको १० वर्ष भन्दा कम समय कानुन व्यवसायमा सम्लग्न कानून व्यवसायीहरुलाइ दिइएको तालिम शनिबार समापन भएको हो ।
नेपाल कानून व्यवसायी परिषद लयर्स एकेडेमी समिति, कुपण्डोल, ललितपुरको आयोजना र उच्च अदालत बार एशोसीयसन हेटौंडा, जिल्ला अदालत बार एशोसीयसन मकवानपुरको सह–आयोजनामा तालिम भएको हो । ८ दिन सम्म चलेको तालिम ४२ घण्टाको थियो । तालिममा ४० जना अधिवक्ताहरुको सहभागिता रहेको अधिवक्ता चुडा उप्रेतीले जानकारी दिए ।
नेपाल बार एशोसीयसन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको सभाध्यक्षता तथा नेपाल कानून व्यवसायी परिषदका अध्यक्ष तथा नेपाल सरकारका महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता रमेश बडालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समापन कार्यक्रम मा प्रमुख अतिथि तथा महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बडालले तालिममा सहभागी अधिवक्ताहरुलाइ प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीशद्वय यमुना भट्टराई, डाक्टर शान्ता सेढाई, नेपाल बार काउन्सिलका सदस्य वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, बागमती प्रदेशका मुख्य न्यायधिवक्ता वरिष्ठ अधिवक्ता शुकदेव काफ्ले, प्रदेश बार, जिल्ला बारका अध्यक्ष, पुर्व अध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु लगायत अधिवक्ताहरुको उपस्थिति रहेको थियोे ।



































































