हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण वडाबीच प्रतिस्पर्धा हुने गरी प्रतिष्ठित ‘मेयर कप’ फुटबल प्रतियोगिताको छैटौं संस्करण आयोजना हुने भएको छ । हेटौंडा–१३ स्थित पदमपोखरी युथ क्लबको आयोजनामा आगामी असार ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले नगर क्षेत्रका युवाहरूमा खेलकुदको अभिरुचि बढाउने र भविष्यका लागि उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ ।
करिब २० लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुने यस प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको छ भने हेटौंडा–१३ वडा कार्यालय सह-प्रायोजकका रूपमा रहेको छ । प्रतियोगिता सञ्चालनका लागि उपमहानगरपालिकाबाट १० लाख, १३ नं. वडा कार्यालयबाट ५ लाख र अन्य सहयोगीदाताहरूबाट थप ५ लाख रुपैयाँ जुटाउने गरी आयोजकले बजेट व्यवस्थापन गरेको छ । उक्त रकम खेलाडीको पुरस्कार, रेफ्रि शुल्क, खेल मैदान व्यवस्थापन, प्राविधिक सामग्री, प्रचारप्रसार, उद्घाटन तथा समापन समारोह लगायत विभिन्न शीर्षकमा खर्च गरिने क्लबका अध्यक्ष अमृत लुङबाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक वडाले आफ्नो क्षेत्रका स्थायी बासिन्दा रहेका खेलाडीसहित २० खेलाडी र २ जना कोच तथा व्यवस्थापक गरी २२ सदस्यीय टोली दर्ता गराउनुपर्नेछ । सहभागी टोलीहरूले असार ३ गतेभित्र नाम दर्ता गराउनुपर्नेछ भने खेल तालिका असार ४ गतेदेखि १३ गतेसम्म हेटौंडा–१३ वडा कार्यालयमा हरेक दिन अपराह्न ४ बजे सार्वजनिक गरिनेछ । खेलाडीहरूको बीमा भने सम्बन्धित वडाले नै गर्नुपर्ने आयोजकले स्पष्ट पारेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्नेछ । नेपाल सरकारको नियमानुसार पुरस्कार राशीबाट करकट्टी गरिनेछ । यसका साथै हरेक खेलमा ‘म्यान अफ दि म्याच’, विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार रुपैयाँ र ‘प्लेयर अफ दि टुनामेन्ट’ लाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
अनुशासनलाई विशेष प्राथमिकतामा राखेको आयोजकले खेलका नियमभन्दा बाहिर गएर अभद्र वा अस्वभाविक व्यवहार गर्ने खेलाडी तथा क्लबलाई कडा कारबाही गरिने जनाएको छ । खेलमाथि कुनै उजुरी गर्नुपरेमा खेल सकिएको एक घण्टाभित्र दश हजार रुपैयाँ शुल्कसहित निवेदन दिनुपर्नेछ । प्रतियोगितालाई थप व्यवस्थित र पारदर्शी बनाउन गोल नेपालमार्फत प्रत्यक्ष प्रसारणको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


































































