हेटौँडा । नयाँ वर्ष २०८३ को अवसर पारेर हेटौँडामा आयोजित ५ किलोमिटर खुला दौड प्रतियोगिता उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका–६ नं वडा समितिको आयोजनामा भएको प्रतियोगितामा बकैया गाउँपालिकाका राजकुमार गोले प्रथम भएका छन्।
प्रतिस्पर्धात्मक दौडमा बकैयाकै अनिष थिङले दोस्रो स्थान हासिल गर्दा राक्सिराङका सुभाष हेमजंग तेस्रो स्थानमा सीमित भए। विजेताहरूले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
महिला तर्फ हेटौँडा–१३ की साधना लोप्चन प्रथम, सोही स्थानकी गंगा मोक्तान दोस्रो र हेटौँडा–३ की स्वस्तिका थिङ तेस्रो भएकी छन्। उनीहरूले पनि नगद पुरस्कारसहित सम्मान प्राप्त गरेका छन्।
कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता तथा नेपाल तरुण दल जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा ४ जना महिला सहित कुल ३० जना धावकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। नयाँ वर्षको अवसरमा हरेक वर्ष यस्ता प्रतियोगिता आयोजना गर्दै आएको तरुण दलले यस पटक पनि खेलमार्फत सामाजिक एकता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।



































































