हेटौँडा । विश्व अटिजम दिवसको सन्दर्भ पारेर हेटौँडा–४ मा सञ्चालित सेन्टर फर अटिजमले अभिभावकहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै अटिजम भएका बालबालिकाको समग्र विकासमा समुदायको भूमिका थप सुदृढ बनाउने सन्देश दिएको छ।
हरिकृष्ण मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ महासंघ बागमती प्रदेशका सदस्य बद्री विक्रम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा अटिजम भएका बालबालिकाको शिक्षा, हेरचाह र पुनःस्थापनामा अभिभावकको सक्रियता कति महत्वपूर्ण हुन्छ भन्ने विषयमा जोड दिइएको थियो।
चार वर्षअघि तीन जना अभिभावकको पहलबाट सुरु भएको यो केन्द्र अहिले अभिभावककै निरन्तर सहयोग र समर्पणमा सञ्चालन भइरहेको छ। हाल ३२ जना बालबालिका अध्ययनरत रहेको केन्द्रले व्यवहारिक सिकाइमार्फत बालबालिकाको बौद्धिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ।
केन्द्रमा डे–केयर सेवा, स्पिच थेरापी, बिहेव्यर थेरापी, अकुपेशनल थेरापी तथा अभिभावक–शिक्षक काउन्सिलिङ जस्ता सेवा नियमित सञ्चालनमा छन्। साथै फिजियोथेरापी, योग र ध्यान अभ्याससमेत गराइँदै बालबालिकाको समग्र विकासमा ध्यान दिइएको छ।
दैनिक जीवनका आवश्यक सीपहरू—जस्तै आफैं खाना खाने, कपडा लगाउने, सरसफाइ गर्ने र नियमित दिनचर्या अपनाउने—बालबालिकालाई अभ्यास गराइन्छ। सञ्चार सीप विकासका लागि संकेत, चित्र, कार्ड तथा शब्द उच्चारणमार्फत अभिव्यक्ति र बुझाइ क्षमता वृद्धि गरिँदै आएको छ। आधारभूत लेखपढ, रंग–आकार चिन्ने, खेलमार्फत सिकाइ तथा समूहमा घुलमिल हुने अभ्यासलाई पनि प्राथमिकता दिइएको छ।
प्रत्येक बालबालिकाको क्षमता र अवस्थाअनुसार व्यक्तिगत सिकाइ योजना लागू गरिएको केन्द्रले जनाएको छ। यसैको परिणामस्वरूप हालसम्म पाँच जना बालबालिका नियमित विद्यालयमा भर्ना हुन सफल भएका छन्।
केन्द्रमा ‘ग्रीन’, ‘रेड’ र ‘एल्लो’ समूहमा वर्गीकरण गरी सिकाइ प्रक्रिया अघि बढाइन्छ। नियमित थेरापीसँगै सेन्सरी थेरापीसमेत गरिँदै आएको छ, जसले व्यवहार सुधार, ध्यान केन्द्रित गर्ने क्षमता वृद्धि तथा दैनिक जीवन सहज बनाउन मद्दत गर्ने थेरापिष्ट ग्रिष्मा मैनालीले जानकारी दिनुभयो।
हाल केन्द्रमा १६ जना तालिमप्राप्त शिक्षक र २ जना थेरापिस्ट कार्यरत छन्। संस्थाकी सचिव अस्मिता कालिकाका अनुसार अभिभावककै सक्रियता र सहकार्यले केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन मद्दत पुर्याएको छ।


































