हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी २०८२ आयोजना गर्ने भएको छ। संघअन्तर्गतको कृषि प्रवर्द्धन समितिको संयोजनमा चैत १३ गतेदेखि १६ गतेसम्म हेटौंडाको पल्पसा सदनमा प्रदर्शनी आयोजना गरिने जानकारी दिइएको छ।
किसान तथा कृषि उद्यमीहरूको मनोबल बढाउने, युवालाई कृषिमा आकर्षित गर्ने तथा कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो। प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले गर्ने कार्यक्रम रहेको छ भने विभिन्न कलाकारहरूको प्रस्तुति समेत आकर्षणको रूपमा रहने जनाइएको छ।
संघले विगतदेखि नै उद्योगी व्यवसायीहरूको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र कृषिक्षेत्रमा पनि उत्प्रेरणा तथा प्रवर्द्धनात्मक गतिविधि गर्दै आएको जनाएको छ। मकवानपुर जिल्लाका विभिन्न क्षेत्रहरूमा व्यावसायिक कृषि उत्पादन हुँदै आएको र त्यसको विस्तार तथा बजारीकरणका लागि यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट कृषक तथा उद्यमीहरूको सहभागिता रहनेछ। सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुरका सहभागीहरूले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्नेछन्। कुल ४० वटा स्टल रहने प्रदर्शनीमा कोदो, फापर, गेडागुडी, मह, मसला, च्याउ, माछा, डेरी उत्पादन, अचार, गुन्द्रुक, जुनार जुसलगायतका कृषि उपज तथा कृषि प्रविधिसम्बन्धी सामग्रीहरू राखिनेछन्।
प्रदर्शनीमार्फत कृषि उत्पादनको विविधीकरण, बजारीकरण, कृषि फर्म दर्तामा वृद्धि, व्यवसायिक ज्ञान आदानप्रदान तथा किसानबीच सहकार्य विस्तार हुने विश्वास लिइएको छ।
प्रदर्शनीका लागि करिब ५ लाख ७५ हजार रुपैयाँ बजेट तय गरिएको छ। जसमध्ये ५ लाख रुपैयाँ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट उपलब्ध गराइनेछ भने बाँकी खर्च संघको आन्तरिक स्रोत र सहयोगदाताबाट व्यवस्थापन गरिने बताइएको छ।































