हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ। हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिता सोमबारबाट सुरु भई शनिबार सम्पन्न भएको हो।
नेपाल सितोरियो कराँते संघ मकवानपुरको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बकैया गाउँपालिकाको हात्तीसुडे डोजोले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। प्रशिक्षक भीम घलानको नेतृत्वमा रहेको उक्त डोजोले १४ स्वर्ण पदक जित्दै प्रतियोगितामा स्पष्ट अग्रता कायम गरेको हो।
प्रतियोगितामा सिमात बुद्ध डोजो बकैया–११ ले ३ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने हेटौँडाको मेन डोजो २ स्वर्ण पदकसहित तेस्रो स्थानमा सीमित भएको छ।
विजेता टोलीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
३० केजीदेखि ६५ केजी तौल समूहसम्मका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा एकल काता विधासमेत समावेश गरिएको थियो। कुल ३ सय ६५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता प्रतिस्पर्धात्मक र आकर्षक बनेको आयोजकले जनाएको छ।
पुरस्कार वितरण समारोह नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामाको सभाध्यक्षतामा तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा खेलकुदका पूर्वअध्यक्ष सानू लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, सितोरियो कराँते नगर कमिटीका अध्यक्ष दामोदर दाहाल, नगर खेलकुद सदस्य सुनिल लोप्चन लगायतको उपस्थिति रहेको थियो।


































